इजरायल र हमासबीचको युद्ध तनाव चुलिँदै गएका बेला हमासले नेपालका विपिन जोशीसहित ४८ जना इजरायली बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ। गाजा सहर कब्जा गर्ने इजरायली सेनाको आक्रमण तीव्र भइरहेका बेला शनिबार सार्वजनिक गरिएको उक्त तस्बिरले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ।
कतारस्थित अल जजिरा अनलाइनका अनुसार हमासको सशस्त्र अंग ‘कसाम ब्रिगेड्स’ले बन्दीहरूको सामूहिक तस्बिर सार्वजनिक गरे पनि उनीहरूको स्वास्थ्य अवस्था र बसोबासको विस्तृत जानकारी खुलाइएको छैन। सार्वजनिक तस्बिरमा नेपालका युवा विपिन जोशी पनि देखिएका छन्। प्रत्येक बन्दीलाई १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका कप्तान रोन अराडको नाम दिइएको बताइएको छ।
हमासले गाजामा इजरायली सेनाको बढ्दो सैन्य आक्रमणका कारण बन्दीहरूको जीवन जोखिममा परेको भन्दै ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको दाबी गरेको छ। जोशीसहित ४८ जना बन्दीलाई सन् २०२३ अक्टोबर ७ देखि हमासले नियन्त्रणमा राख्दै आएको बताइन्छ।
यस घटनाले इजरायल–हमास द्वन्द्व अझ जटिल बन्दै गएको संकेत गरेको छ भने नेपाल सरकारले पनि आफ्ना नागरिकको सुरक्षित मुक्तिका लागि कूटनीतिक पहल तीव्र पार्नुपर्ने दबाब बढेको छ।