राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलबीच आज बिहीबार साँझ भेटवार्ता भएको छ। राष्ट्रपति बस्दै आएको सुरक्षित स्थानमा पुगेर प्रधानसेनापतिले भेट गरेका हुन्।
उच्च स्रोतका अनुसार सो अवसरमा प्रधानसेनापतिले जेनजी समूहसँग हालसम्म भएका वार्ता प्रयासका बारेमा राष्ट्रपति पौडेललाई विस्तृत जानकारी गराएका थिए। शीतल निवास जेनजी आन्दोलनकारीले आगजनी गरेपछि हाल राष्ट्रपति सुरक्षित स्थानमा बस्दै आएका छन्।
यसअघि आजै एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकमा शान्ति र सुव्यवस्था कायम गर्न सबै पक्षलाई संयमता अपनाउन अपिल गरेका थिए। उनले वर्तमान विषम परिस्थितिमा लोकतन्त्रको संरक्षण तथा संवैधानिक दायराभित्र रहेर निकास दिन सरकार र सम्बद्ध निकायहरू निरन्तर प्रयासरत रहेको बताए। राष्ट्रपति पौडेलले मुलुकलाई स्थायित्वतर्फ डोर्याउन निरन्तर विचार–विमर्श र पहल भइरहेको समेत उल्लेख गरेका छन्।