Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

हेर्दाहेर्दै जल्यो गर्भनर पौडेलको घर, लेखे यस्तो भावुक स्ट्याटस

जेनजी समूहको आन्दोलनका क्रममा अराजक समूहले सार्वजनिक र निजी व्यक्तिका घर, उद्योग व्यवसायमा ठूलो आक्रमण गरेका छन् । मंगलबार आन्दोलनको अराजक समूहले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको भैंसीपाटीको घर र चितवनमा वृद्ध आमाबा बस्ने गाउँको घर पनि जलाइदिएपछि भावुक स्टाटस लेखेका हुन् ।

गभर्नर पौडेलले सामाजिक सन्जालमा घरमा लागेको क्षति र पारिवारिक अवस्थाबारे जानकारी दिँदै भनेका छन्, ‘भिडियोमा सुरुमा ढुंगा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षीया आमाको सुत्ने कोठा हो। उहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको पनि हो।’ गभर्नर पौडेलले थपेका छन्, ‘यो मेरो गाउँको घर हो। गभर्नर भए पनि हरेक साता म एकछाक भए पनि बाआमासँग खाना खान पुग्ने गर्थें। बाले लगभग १५ वर्षअघि म विद्यार्थी छँदा बनाएको घर हो। अहिले मेरो बा ८७ वर्षका हुनुहुन्छ। केही अघि रक्तअल्पता भइराखेर बाँच्नुहुन्न कि जस्तो भएको थियो, अहिले सन्चो हुनुहुन्छ।’

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘यो घर मैले योजना आयोग उपाध्यक्ष हुनुअघि नै छात्रवृत्ति र देश–विदेशमा काम गरेर साढे पाँच आना जग्गामा बनाएको हो। श्रीमती र मेरी ९ वर्षीया छोरीलाई यो घर धेरै मन पर्ने भएकाले गभर्नर भएपछि पनि यहीँ बस्ने गथ्र्यौं। घरभित्रको बनावट सुन्दर थियो। माथिल्लो तल्लामा किताबैकिताब, मैले ईबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, विभिन्न देशमा जाँदा ल्याएका कलाकृति थिए। देवी दे–देवताका मूर्ति, भियतनामी सिल्क पेन्टिङदेखि माओत्सेतुङसम्मका मूर्ति थिए। ५०० प्रति छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यही थियो । छोरीको अत्यन्त मन पर्ने कोठा पनि त्यही थियो ।’

पौडेलले भैंसेपाटीको घरको क्षति विवरणसमेत सार्वजनिक गरेका छन् । ‘यो घर जल्नु दुई घन्टा अगाडि मात्रै अनलाइनमा खबर आयो। पछि घरभित्र मानिस गएर बाआमाको फोटो, मेरी छोरीको सानो फोटो कुल्चेर फुटाए र सबैमा आगो लगाए। छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिएको एउटा मन्त्रको खेलौना पनि कुल्चिए र आगो लगाइयो। राती मेरी छोरी र श्रीमती नजिकको घर गएर सुते। म अर्को ठाउँमा थिएँ। मेरा साथीहरूलाई थाहा छ, छोरी सुताउनुपर्छ भनेर म सधैँ चाँडै घर आउँछु र कतै डिनर खाने गर्दिनँ,’ उनले भनेका छन्।

‘जिन्दगीमा मैले कसैसँग एक रुपैयाँ मागेको छैन, दिएको मात्र हुँला। नयाँ सरकार बन्दै छ। कसैलाई मैले दुई पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गरे हुन्छ। यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहै छ। मेरो रिस मेरो भैंसेपाटीको घर जलाएर नपुगी, वृद्ध बाआमा बसेको चितवनको घरमा पोख्ने साथीहरूको फलोस्, फुलोस्,’ उनले भनेका छन् ।