नेपाली सेनाले कर्फ्यु आदेश जारी गरेको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले कर्फ्यु आदेश जारी गरिएको जनाएको छ । हाल लागु गरिएको निषेधाज्ञा साँझ ५ बजेसम्म देशभर निरन्तर रहने सेनाले बताएको छ । भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी रहने सेनाले जनाएको छ ।
जेनजीको आन्दोलन तोडफोड, आगजनी र व्यक्ति आक्रमणमा परिणत भएपछि नेपाली सेना आज बिहानैदेखि काठमाडौंका सडकमा तैनाथ भएको छ। प्रधानसेनापति अशोकराज सिक्देलले मंगलबार राति १० बजेबाट नेपाली सेनासहित अन्य सुरक्षा निकायहरूले औपचारिक रूपमा सुरक्षाको जिम्मेवारी लिएको बताएका थिए।
सडकमा उतारिएका सेनाले अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ। सेनाका अनुसार आवश्यक सेवा भने सुचारु रहनेछन्। प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालतलगायतका सरकारी संरचना र नेताहरूको घरमा तोडफोड तथा आगजनी गरेका छन्। यस्ता गतिविधि नियन्त्रणमा लिन सेनाले अग्रसर भूमिका लिएको हो।
सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गर्ने तयारी भइरहेको छ। 'अहिले हाम्रो ध्यान परिस्थितिलाई सामान्य बनाउनेतर्फ केन्द्रित छ। लुटपाट र आगजनीजस्ता घटनाहरू रोक्ने प्रयास भइरहेको छ,' उनले भने।
बस्नेतका अनुसार सेनाले लुटपाटमा संलग्न २७ जनालाई नियन्त्रणमा लिएको छ।