Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

त्रिभुवन विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म बन्द

जेनजी प्रदर्शनका कारण मंगलबार दिउँसो साढे २ बजेदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । मंगलबार राति १ बजेसम्म मात्रै बन्द रहने भनिए पनि परिस्थितिलाई मध्यनजर गर्दै थप समयसम्म उडान स्थगित गरिएको हो ।

आन्तरिक उडानको अग्रणी प्रदायक कम्पनी बुद्ध एयरले बुधबार सूचना जारी गर्दै तोकिएको समयसम्म उडान हुन नसक्ने जनाएको छ । कम्पनीले यात्रुमा परेको असुविधाप्रति माफी माग्दै टिकट काटिसकेका यात्रुलाई रकम फिर्ता गरिने जानकारी दिएको छ ।

देशको वर्तमान परिस्थितिका कारण विभिन्न गन्तव्यतर्फका आन्तरिक उडानहरु प्रभावित भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् ।

यसैबीच, वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै जसरी भए पनि आम जनतालाई सेवा दिने प्रतिबद्धता जनाएको छ । संघका अध्यक्ष मनोज कार्कीले सदस्य कम्पनीहरु हरेक परिस्थितिमा यात्रु सेवामा तत्पर रहने स्पष्ट पारेका छन् ।

संघले अर्को विज्ञप्तिमा भने उडान सञ्चालनमा रहेका हेलिकोप्टरमार्फत कुनै पनि मन्त्री वा राजनीतिज्ञलाई सेवा नदिएको दाबी गरेको छ ।