Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

नेपाली सेनाले भन्यो- नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध छौं

नेपाली सेनाले जेनजी आन्दोलनका विकसित घटनाक्रमहरु बारे विश्लेषण गरिरहेको बताउदै सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको छ ।

नेपाली सेनाले नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

सेनाको विज्ञप्ति:  नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रही आएको छ । नेपालमा हाल भइरहेको "जेनजी" आन्दोलनका विकसित घटनाक्रमहरु बारे नेपाली सेनाले विश्लेषण गरिरहेको छ ।

यस आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजन प्रति नेपाली सेना हार्दिक समवेदना र सहानुभूति व्यक्त गर्दछ । साथै, घाइते विरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।

नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ ।