Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

बालेनले भने– अब संयमित हुनुहोस्, जेनजी पुस्ताले नै देशको नेतृत्व गर्छ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले प्रधानमन्त्रीको राजीनामा आइसकेको अवस्थामा संयमित हुन भनेका हुन् ।


देशको जनधनको क्षति हामी सबैको रहेको भन्दै उनले संयमित हुन आह्वान गरेका हुन् । साथै उनले देशको नेतृत्व नयाँ पुस्ताले गर्ने भन्दै नेपाली सेनाका प्रमुखसँग वार्ता गर्न तयार रहन समेत आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला  देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।
तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला! साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।