बुटवलमा आन्दोलनरत जेनजी समूहले नेकपा एमालेको पार्टी कार्यालय घेराउ गरेको छ । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेनजीहरूले बुटवलस्थित एमाले कार्यालयलाई घेराउ गरेका हुन् ।
स्वतःस्फूर्त रूपमा प्रदर्शनमा उत्रिएका उनीहरूले यसअघि बुटवल उपमहानगरपालिकाको मुख्य प्रवेशद्वारअगाडि प्रदर्शन गरेका थिए भने राजमार्गमा समेत प्रदर्शन गरेका थिए ।
जेनजीको प्रदर्शनलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेका अनुसार बुटवलदेखि भैरहवासम्मको क्षेत्रमा सोमबार दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लागू गरिएको छ ।