नयाँ बानेश्वरस्थित जेनजी प्रदर्शनमा भएको तनावमा प्रहरीले प्रयोग गरेको रबरको गोली लागेर दुई जना फोटो पत्रकार घाइते भएका छन्। घाइतेहरूमा चर्चित फोटो पत्रकार ढुंगानालाल श्रेष्ठ र उमेश कार्की रहेका छन्।
प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले भिडलाई तितरबितर पार्न रबरको गोली चलाउँदा ढुंगाना र कार्कीलाई गोली लागेको हो। उनीहरूलाई तत्काल नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ भने अवस्था स्थिर रहेको बुझिएको छ।
घटना पश्चात् पत्रकार समुदायले प्रदर्शन स्थलमा पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न प्रशासनसँग माग गरेका छन्। साथै, प्रेस स्वतन्त्रताको संरक्षण गर्न प्रहरी र सुरक्षा निकायलाई सचेत रहन अपिल गरेका छन्।
प्रहरीका अनुसार प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन रबरको गोली चलाउनु परेको हो। हाल नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी छ भने सुरक्षा बल र सेनाको संयुक्त रुपमा परिचालन गरिएको छ।