Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

सुरक्षा पोष्टमाथि चढेर फहराए राष्ट्रिय झण्डा

जेनजीको आन्दोलन अझ प्रतीकात्मक बन्दै

काठमाडौंको नयाँ बानेश्वरमा जारी जेनजी (Gen Z) पुस्ताको आन्दोलन थप प्रतीकात्मक र उग्र बन्दै गएको छ। आज दिउँसो प्रदर्शनकारीहरूले बानेश्वरस्थित सुरक्षा पोष्टमाथि चढेर नेपालको राष्ट्रिय झण्डा फहराएका छन्।

एक भिडियोहरूमा केही प्रदर्शनकारीहरू सुरक्षा पोष्टको छानामा चढ्दै झण्डा फहराइरहेका देखिन्छन्। घटनालाई धेरैले "शान्तिपूर्ण तर साहसी जनआक्रोशको प्रतीक" भनेका छन्, भने सुरक्षा दृष्टिले भने यसले अवस्था थप संवेदनशील बनाएको भन्दै सुरक्षा निकायहरू सतर्क भएका छन्।

यसअघि प्रदर्शनकारीहरूले संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएर प्रवेश गरेका थिए, ढुंगामुढा गरेका थिए र गेटमा आगजनी समेत गरेका थिए। त्यसपछि प्रहरीद्वारा पानीको फोहोरा, अश्रुग्यास र रबरको गोली प्रयोग गरिएको थियो। स्थिति नियन्त्रण बाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिसकेको छ।

जेनजी आन्दोलनले मुलुकमा बढ्दो भ्रष्टाचार, सत्तामा देखिएको अव्यवस्था, र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी प्रस्तावको विरोधमा देशव्यापी रूप लिइरहेको छ। "भ्रष्टाचारी थुन, हाम्रो आवाज सुुन", "देश हामी बनाउँछौं", "नेतृत्व बदल" जस्ता नारासहित युवा पुस्ता सडकमा उत्रिएको छ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, नागरिक अगुवाहरू र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो आन्दोलनलाई युवाहरूको जायज आवाज भन्दै समर्थन जनाइरहेका छन्।