Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

संसद् भवनको गेटमा आगजनी, जेनजीको प्रदर्शन थप उग्र

काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि जारी जेनजी (Gen Z) आन्दोलन थप उग्र बन्दै गएको छ। आज दिउँसो प्रदर्शनकारीहरूले संसद भवनको गेटमा आगजनी गरेका छन्। सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिने प्रयास गरेका छन् भने स्थिति अझै तनावग्रस्त छ।

यसअघि प्रदर्शनकारीहरूले २ नम्बर गेटको पर्खाल भत्काउँदै संसद परिसरमा प्रवेश गरेका थिए। त्यसक्रममा ढुंगामुढा, नाराबाजी र अशान्तिपूर्ण गतिविधिहरू देखिएको थियो। अहिले गेटमा आगो लगाइएको पुष्टि भएपछि सुरक्षा निकायहरू उच्च सतर्क अवस्थामा छन्।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र रबरको गोलीसमेत प्रयोग गरिसकेको छ। स्थिति अझै पूर्ण रूपमा नियन्त्रणमा आएको छैन।

यसबीच, जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वर क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै कर्फ्यू आदेश जारी गरिसकेको छ। सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिमा प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रयास भइरहेको छ।

प्रदर्शनमा सहभागी जेनजी पुस्ताका युवायुवतीहरूले भ्रष्टाचार, सत्ता संरचनाको अव्यवस्था, र सामाजिक सञ्जाल बन्द गर्ने निर्णय विरुद्ध आवाज उठाइरहेका छन्। सामाजिक सञ्जालमा व्यापक समर्थन पाएको आन्दोलन अब सांसद र सरकारको जवाफदेहीतामा केन्द्रित हुँदै गएको देखिन्छ।

सामाजिक सञ्जालमार्फत प्रदर्शनको दृश्यहरू तीव्र रूपमा फैलिरहेका छन् भने मानव अधिकार आयोग र नागरिक समाजले दुवै पक्षलाई संयमता अपनाउन अपिल गरेका छन्।