Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

नयाँ बानेश्वरमा जेनजीको प्रदर्शन, प्रहरीले चलायो गोली

काठमाडौंको नयाँ बानेश्वरमा जेनजी (Gen Z) समूहद्वारा आयोजित सरकारविरोधी प्रदर्शन उग्र बनेपछि प्रहरीले रबरको गोली चलाएको छ। संसद भवन नजिकैको तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिन सुरक्षा निकायले पानीको फोहोरा, अश्रुग्यास र रबरको गोली प्रयोग गरेको हो।

प्रदर्शनकारीहरू संसद भवनको पर्खाल चढ्दै भित्र प्रवेश गरेपछि स्थिति थप बिग्रिएको थियो। उनीहरूले संसद भवनको २ नम्बर गेटतर्फको पर्खाल भत्काएका थिए। त्यसपछि प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले बल प्रयोग गरेको हो।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अवस्था झन जटिल बन्दै गएको भन्दै सोमबार दिउँसोदेखि नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिसकेको छ। कर्फ्यूको कारण बानेश्वर क्षेत्रका मुख्य सडकहरू सुनसान छन् भने सुरक्षाकर्मीको बाक्लो उपस्थिती छ।

प्रदर्शनमा संलग्न जेनजी समूहले सरकारद्वारा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय, बढ्दो भ्रष्टाचार र शासन प्रणालीमा देखिएको अव्यवस्थाको विरोध गरिरहेको छ। उनीहरूले स्वतःस्फूर्त रूपमा सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आन्दोलनमा सहभागिता जनाएका थिए।

मानवअधिकार आयोग र नागरिक समाजले स्थिति थप संवेदनशील नबनाउन दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्। यद्यपि, प्रदर्शन अझै केही स्थानहरूमा जारी रहेको छ।