Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

जेनजी पुस्ता सडकमा: सामाजिक सञ्जाल निष्क्रिय र भ्रष्टाचारविरुद्व माइतीघरमा प्रदर्शन

सरकारले भदौ १९ गतेदेखि २६ सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय गरेपछि यसको विरोधमा 'जेनजी' पुस्ता सडकमा उत्रिएको छ। कलेज र विद्यालयको पोशाकमा, किताब र प्लेकार्ड बोकेर माइतीघर मण्डलामा जम्मा भएका युवाहरूले सरकारविरुद्ध नारा लगाउँदै शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन्।

सन् १९९७ देखि २०१२ सम्म जन्मिएका युवाहरूलाई 'जेनरेशन जेड' वा 'जेनजी' भनिन्छ। प्रविधिमा हुर्किएको यो पुस्ता डिजिटल माध्यमहरूसँग गहिरो रूपमा जोडिएको छ, जसका कारण सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयप्रति उनीहरू आक्रोशित बनेका छन्।

प्रदर्शनमा सहभागीहरूले भने, “हामीलाई बोल्न दिउ, हाम्रा आवाज बन्द नगर।” उनीहरूले "भ्रष्टाचार बन्द गर", "नातावाद र कृपावाद अन्त्य गर", जस्ता नारासहित सरकारको चर्को आलोचना गरेका छन्।

Genz_11757303086.jpg

सरकारले भदौ १२ गते एक हप्ता समय दिँदै २६ सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय सार्वजनिक गरेको थियो। यसअघि मंसिर २०८० मा सामाजिक सञ्जाल निर्देशिका जारी गर्दै सञ्जालहरूलाई नेपालमा सूचीकृत हुन आग्रह गरिएको थियो। तर सूचीकृत नहुँदै सरकारी निर्णयले जनतामा विशेषगरी युवापुस्तामा असन्तोष चुलिएको छ।

प्रदर्शनमा आएका युवाहरूले भ्रष्टाचार, नातावाद र नेताहरूका परिवारको रवाफिलो शैलीका कारण देश छोड्न विवश युवाहरूको पीडा पनि उठाएका छन्। उनीहरूले देशको नेतृत्वप्रति गम्भीर प्रश्न उठाउँदै परिवर्तनको माग गरेका छन्।

माइतीघर मण्डलामा बिहान ११ बजेबाट औपचारिक विरोध कार्यक्रम तय भए पनि बिहानैदेखि जेनजी पुस्ताका युवाहरू स्वतःस्फूर्त रूपमा प्रदर्शनमा जुटेका छन्। उनीहरूले सडकमै नाचगान र सिर्जनात्मक शैलीमा प्रदर्शन गर्दै शान्तिपूर्ण रूपमा आफ्नो असन्तोष व्यक्त गरिरहेका छन्।

प्रदर्शन शान्तिपूर्ण रहे पनि यसले डिजिटल अधिकार, अभिव्यक्ति स्वतन्त्रता र युवा पुस्ताको राजनीतिक चेतनालाई थप उजागर गरेको छ। अब सरकार यसप्रति कसरी प्रतिक्रिया दिन्छ भन्ने चासो बढ्दै गएको छ।