Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

अस्ट्रेलियाको मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको मृत्यु

अस्ट्रेलियाको मेलबर्नस्थित ह्युम हाइवेमा भएको कार दुर्घटनामा परी दुई नेपाली नर्सको ज्यान गएको छ। मेलबर्नको उत्तरतर्फ पर्ने क्रेगीबर्ननजिकै शनिबार राति दुर्घटना भएको हो।

जन्मदिन मनाएर घर फर्कंदै गरेका बेला उनीहरू चढेको कार कंगारुलाई बचाउने प्रयासमा हाइवेमा रोकिएको थियो। स्थानीय प्रहरीका अनुसार तीव्र गतिमा पछाडिबाट आएको अर्को सवारीले रोकिएको कारमा ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी अल्फ्रेड अस्पतालमा कार्यरत नेपाली नर्सहरू सरला र अरुजाको मृत्यु भएको पुष्टि भएको छ। प्रहरीका अनुसार घटनास्थलमै एक नर्सको मृत्यु भएको थियो भने अर्की नर्सको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो।

दुर्घटनाको कारणबारे विस्तृत छानबिन अघि बढाइएको प्रहरी अधिकारीहरूले जनाएका छन्। प्रारम्भिक अनुमानअनुसार रातको समय र तीव्र गतिका कारण पछाडिको गाडीले अघि रोकेको गाडीलाई देख्न नसक्दा दुर्घटना भएको हुनसक्ने बताइएको छ।

यो घटनाले अस्ट्रेलियामा रहेका नेपाली समुदायमा शोकको छायाँ छाएको छ।