Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट

सरकारले फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्राम लगायतका २६ वटा सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा दायर गरेको रिट हाल दर्ता प्रक्रियामा रहेको छ। रिटमार्फत उनले नागरिकको अभिव्यक्ति स्वतन्त्रता दबाउने उद्देश्यले सरकारले प्रतिबन्ध लगाएको आरोप लगाउँदै निर्णय खारेज गरी सेवा पुनःसञ्चालन गर्न अन्तरिम आदेश माग गरेका छन्।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई विपक्षी बनाइएको छ।

सरकारले बिहीबार रातिदेखि सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिइसकेको छ। सो निर्देशनपछि देशभर प्रमुख डिजिटल प्लेटफर्महरू पहुँचबाहिर पुगेका छन्।