उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नितीगत सुधार गरिएको बताए । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले आज झापाको विर्तामोडमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता–उपभोक्ता अधिकार हाम्रो चासो’ विषयक अन्तरसम्वादमा बोल्दै उहाँले निजी क्षेत्रलाई साथमा लिएर मुलुकको विकास गर्ने गर्नका लागि नितीगत सुधार गरिएको बताए ।
“नीजि क्षेत्रलाई सँधै साथमा लिएर हिड्नुपर्छ भन्ने बुझेको पार्टी कांग्रेस हो, यसका लागि थुप्रै नितीगत सुधार भएका छन्, निजी क्षेत्र इमान्दारीका साथ राजस्व तिर्न तयार हुनुपर्छ,”– उनले भने।
उर्जामन्त्री खड्काले मुलुकको आर्थिक विकास गर्न र थलिएको अर्थतन्त्रलाई उकास्नका लागि संसदका दुई ठूला दल मिलेर वर्तमान सरकार बनेको बताउनुभयो । “मुलुकलाई संकट परेको बेलामा दुई ठूला दल मिलेर समाधान भएको इतिहास छ, मुलुकको आर्थिक विकासका लागि वर्तमान सरकार निर्माण भएको हो,”–उहाँले भन्नुभयो । निजी क्षेत्रहरु डराउनुपर्ने र आत्तिनुपर्ने कुनै अवस्था नरहेको उहाँको भनाई थियो ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच राजनीतिक विचारधारा फरक भएपनि मुलुकको आर्थिक विकास र जनताको जीवनस्तर उकास्नका लागि दुई दल एकठाउँमा उभिएको उनको भनाई थियो । स्थिर सरकार बनेको र गर्नुपर्ने काम धेरै भएको मन्त्री खड्काले बताउनुभयो । विगतमा भन्दा अहिले लगानी बढेको उनको भनाई थियो ।
उनले कुनै उदेश्य, एजेण्डा र योजना नभएका पार्टीले हल्ला गर्ने र जनतालाई भ्रम छर्ने काम गरिरहेको बताए। वास्तविक कुरा जनताकहाँ पु¥याउने जिम्मा कांग्रेस पार्टीको भएको उहाँको भनाई थियो । मन्त्री खड्काले मुलुकमा लगानीको वातावरण बनेको र विगतमा भन्दा धेरै सुधारका कामहरु भएको उल्लेख गरे ।
मन्त्री खड्काले आफू उर्जामन्त्री भएपछि मुलुकको उर्जा क्षेत्रको विकासका लागि उर्जा विकास मार्गचित्र, २०८१ जारी गरी सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने र उत्पादित विद्युतमध्ये १३ हजार ५०० मेगावाट स्वदेशमा खपत र बाँकी १५ हजार मेगावाट छिमेकी मुलुक भारत, बंगलादेशलगायतका स्थानमा विक्रि गर्ने प्रष्ट लक्ष्य लिएको स्पष्ट पार्नुभयो । उक्त लक्ष्य पुरा गर्न ६४ खर्ब आवश्यक पर्ने उनको भनाई थियो ।
उनले विगत दुई दशकदेखि हल्ला र कुरा धेरै भएपनि आफ्नो कार्यकालमा बङ्गलादेश विद्युत निर्यात गर्न सफल भएको बताए। उनले अहिले भारतमा मात्र झण्डै १२ सय मेगावाट विद्युत निर्यात भइरहेको उल्लेख गरे । उनले उक्त विद्युत विक्रिवापत सरकारलाई १७ अर्बभन्दा बढी रकम आम्दानी भएको बताए ।
उनले विद्युत उत्पादन बढेको र उत्पादनको भार थाम्न नसकेर ट्रान्सफर्मरको संरचना पुननिर्माण गर्दा केही समय बत्ती जाने गरेको बताए । लोडसेडिङ भने अब नहुने उनको भनाई थियो । उर्जामन्त्री खड्काले मधेशमा कृषिमा विद्युतीकरण गर्ने कामलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताए । आर्थिक हिसावले देश समुन्नत बन्दै गएको उनको भनाई थियो