Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

महिला अधिकार कार्यान्वयनको मागसहित माइतीघरमा सडक धर्ना सम्पन्न

संविधानले सुनिश्चित गरेका महिला अधिकारहरूको व्यवहारिक कार्यान्वयन र विभेदकारी कानूनी संरचनाको अन्त्यको मागसहित आज माइतीघर मण्डलामा सडक धर्ना सम्पन्न भएको छ।

तरंगिनी फाउन्डेसनको संयोजनमा आयोजित यो धर्ना कार्यक्रम केही साता अघि सम्पन्न आन्दोलनको निरन्तरता हो, जसअन्तर्गत महिला अधिकारका लागि दबाब अभियानले विभिन्न क्षेत्रका श्रमिक महिलाहरूको सहभागितामा आवाज बुलन्द गरेको हो।

कार्यक्रममा कृषि, मनोरञ्जन, सत्कार तथा घरेलु श्रमिक महिला मानव अधिकार रक्षकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। सहभागीहरूले गीत, कविता र नारामार्फत् महिलामाथिको हिंसा, श्रमको अवमूल्यन, यौन श्रम र घरेलु श्रम जस्ता संवेदनशील विषयहरू उठाएका थिए। उनीहरूले राज्यको संवेदनशीलता अभावप्रति आक्रोश व्यक्त गर्दै दण्डहीनता अन्त्य र न्याय सुनिश्चितताको माग गरेका थिए।

1.jpg

धर्नाका क्रममा “मेरो शरीर, मेरो अधिकार”, “सबै श्रमको सम्मान गर”, “संविधानले दिएको हक कागजमा भयो किन लक?”, “दण्डहिनता अन्त्य गर”, “महिलाको विविधता स्वीकार गर”, “किसानको श्रमको मूल्य देउ, भाषण होइन न्याय देउ”, “कवाडी व्यवसायीको श्रम विना शहर सफा हुँदैन”, जस्ता नारा गुन्जिएका थिए।

कार्यक्रमको समापनमा महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालकी अध्यक्ष श्याम कुमारी शाहले संविधानले सुनिश्चित गरेका अधिकारहरूको अनुभूति नभएसम्म अभियान जारी रहने स्पष्ट पार्दै राज्यको संवेदनशीलता अभावप्रति गम्भीर ध्यानाकर्षण गराइन्।

उनले आउँदो असोज ३ गते संविधान दिवसको अवसरमा आयोजना गरिने विशाल र्यालीमा सहभागी भई संविधान प्रदत्त अधिकारहरूको व्यवहारिक कार्यान्वयनको माग गर्न सबैमा आह्वान गरिन् । 

यो अभियानले महिला अधिकारका सवालमा बहस, दबाब र जागरणको सशक्त माध्यम बन्न थालेको संकेत दिएको छ।