Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

ओलीलाई लिङ्देनको चुनौती : तपाईसँग झापा–५ बाटै चुनाव लड्न तयार छु

‘ओलीजी ! वडा सदस्य नभएर मर्न तयार छु, तर भ्रष्टविरुद्ध उभिन्छु’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बाँकी जीवन वडासदस्य नभएर मर्न तयार रहेको तर भ्रष्टका विरुद्ध उभिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।

आज (शनिबार) झापाको बिर्तामोडमा राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै यस्तो चुनौती दिएका हुन् । उनले जनतामा धेरै लोकप्रिय छु भन्ने लागेको भए संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा प्रतिष्पर्धा गर्न ओलीलाई चुनौती दिए ।

उनले आवश्यक परे झापा क्षेत्र नम्बर ५ बाटै निर्वाचन लड्ने स्पष्ट पारे । राजेन्द्र लिङ्देन एउटा सांसद जित्नु र नजित्नु भन्दा माथि छ भन्ने बुझ्न जरुरी रहेको बताए । प्रधानमन्त्री, मन्त्री र सांसद जित्नु आफ्नो उद्देश्य नरहेको लिङदेनले स्पष्ट पारे ।

लिङ्देनले भने, ‘अस्ती प्रधानमन्त्रीले त्यो राजेन्द्र लिङ्देन भन्ने मान्छेले झापामा कहाँबाट जित्दोरहेछ भनेर थर्काउनु भएछ । म जवाफ दिन्छु‚ त्यतिखेर हाम्रो केही सहकार्य भयो । म सांसद त के बाँकी जीवन वडा सदस्य नभएर मर्न तयार छु तर यो भ्रष्ट व्यवस्थाविरुद्ध उभिन्छु भनेर आएको हुँ । म मन्त्री, प्रधानमन्त्री, सांसद हुन्छु कि हुन्न भनेर हिँडेको मान्छे होइन ।’ लिङ्देनले प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री हुने व्यवस्थासहित ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न चुनौती दिए ।