Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

पहिलोपटक अपी हिमाल आरोहणमा जान लागेको १५ जनाको टोलीलाई पर्यटनमन्त्रीले गरे बिदाई

सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपी हिमालको पहिलो पटक आरोहण गर्न १५ सदस्यीय टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपाल पर्वतारोहण संघ (एनएमए) द्वारा आयोजित बिदाई कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आरोहीको टोलीलाई बिदाई गरेका हुन् । उनले पहिलो आरोहण सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक र सुखद क्षण भएको उल्लेख गरे ।

नेपाल सरकारले हालै मात्र राजपत्रमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ वटा हिमालको दुई वर्षका लागि आरोहण शुल्क छुट दिने निर्णय गरेसँगै अपी हिमालको आरोहण प्रारम्भ भएको हो।

बिदाई कार्यक्रममा मन्त्री पाण्डेले पर्वतारोहण क्षेत्र नेपाललाई चिनाउने महत्त्वपूर्ण साधना रहेको बताउँदै शेर्पा तथा गैर-शेर्पा आरोहीहरूको संयुक्त प्रयासले हिमालारोहणको क्षेत्रमा नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरे ।

अपी गाउँपालिकाबाट समेत संलग्न टोलीमा १५ जना आरोही सहभागी छन् । आरोहण अभियानमा जोखिम रहे पनि स्थानीयलाई समेत समेट्दै अघि बढाइएको यो पहल सुदूरपश्चिम पर्यटन र पर्वतारोहणको क्षेत्रमा नयाँ अवसरका रूपमा हेरिएको छ।