Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालद्वारा महानगरले कावाडी व्यवसायीहरूमाथि गरेको व्यवहारप्रति गम्भीर आपत्ति

महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल (NAWHRD) काठमाडौँ महानगरपालिकाले हालै कावाडी व्यवसायीहरूमाथि गरेको अमानवीय व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ। 

आज एक विज्ञप्ति जारी गर्दै पुनः प्रयोगयोग्य वस्तुहरूको संकलन, वर्गीकरण, र पुनःचक्रणमार्फत वातावरणीय संरक्षणमा योगदान पुर्‍याउँदै आएका श्रमिकहरूलाई बिना पूर्वसूचना जबर्जस्ती विस्थापित गर्नु, उनीहरूको श्रमलाई अपमानित गर्नु, र जीविकोपार्जनको अधिकारमाथि हस्तक्षेप गर्नु मानव अधिकारको गम्भीर उल्लङ्घन रहेको बताएको हो।

उक्त विज्ञप्तीमा भनिएको छ: 
महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल (NAWHRD) काठमाडौँ महानगरपालिकाले हालै कावाडी व्यवसायीहरूमाथि गरेको अमानवीय व्यवहारप्रति गम्भीर आपत्ति प्रकट गर्दछ। पुनः प्रयोगयोग्य वस्तुहरूको संकलन, वर्गीकरण, र पुनःचक्रणमार्फत वातावरणीय संरक्षणमा योगदान पुर्‍याउँदै आएका श्रमिकहरूलाई बिना पूर्वसूचना जबर्जस्ती विस्थापित गर्नु, उनीहरूको श्रमलाई अपमानित गर्नु, र जीविकोपार्जनको अधिकारमाथि हस्तक्षेप गर्नु मानव अधिकारको गम्भीर उल्लङ्घन हो।

विभिन्न संचारमाध्यमहरूमा प्रकाशित समाचारहरू अनुसार, महानगरले विगत दुई वर्षदेखि संविधानले प्रत्याभूत गरेको पेशा–व्यवसाय गर्ने अधिकारको उल्लंघन गर्दै कुटपिट, अपहरण, संरचना भत्काउने, तथा सामान जफत गर्ने कार्यहरू गर्दै आएको पुष्टि भएको छ। यस प्रकारको व्यवहारले मानव गरिमा, श्रमिक सुरक्षा, र जीविकोपार्जनको स्वतन्त्रतामाथि गम्भीर आघात पुर्‍याएको छ। उनीहरूमाथि गरिएको ज्याजती केवल प्रशासनिक लापरवाही होइन, यस किसिमको अमानवीय व्यवहार संरचनागत विभेदको प्रतिबिम्ब हो, जसले सहरको सौन्दर्यीकरणको नाममा श्रमिक समुदायको अस्तित्व नै मेटाउने प्रयास गर्दछ।

यस सन्दर्भमा NAWHRD संवैधानिक अधिकारको संरक्षण, पीडितहरूमाथि भएको ज्यादतीको तत्काल अन्त्य, संलग्न अधिकारीहरूमाथि निष्पक्ष कानुनी कारबाही, तथा पीडित समुदायको सुरक्षा र क्षतिपूर्तिको सुनिश्चितताका लागि सम्बन्धित निकायहरूलाई तत्काल हस्तक्षेप गर्न आग्रह गर्दछ। हामी राज्यका सबै तहका निकायहरूलाई स्मरण गराउन चाहन्छौं कि श्रमिक अधिकारको संरक्षण, गरिमायुक्त जीवनको सुनिश्चितता, र न्यायको प्रत्याभूति लोकतान्त्रिक शासनको आधारस्तम्भ हो। कवाडी व्यवसायीहरूको माग केवल व्यक्तिगत पीडाको अभिव्यक्ति होइन, बरु संरचनागत अन्यायको विरुद्धको सामूहिक प्रतिरोध हो । हामी गरि खाने श्रमिकहरूको आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता प्रकट गर्दछौं साथै, हामी सबै मानव अधिकार रक्षक, नागरिक समाज, सञ्चारकर्मी, तथा सरोकारवाला पक्षहरूलाई यस विषयमा ऐक्यबद्धता जनाउन, पीडित आवाजलाई सशक्त बनाउने कार्यमा साथ दिन, र न्यायको पक्षमा स्पष्ट रूपमा उभिन आह्वान गर्दछौं।