Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

छाउगोठमा सुतिरहेका आमा छोरीको मृत्यु

अछाममा महिनावारी बार्न खेतमा त्रिपाल टाँगेर सुतेको अवस्थामा भीरबाट खसेको ढुङ्गाले लागेर महिला र एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलमा मंगलबार बिहान करिब ५ः३० बजे भीरबाट खसेको ढुङ्गाले त्रिपालमुनि सुतेका तीन जनालाई च्याप्दा घटनास्थलमै दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मृत्यु हुनेमा गोरे भण्डारीकी ७ वर्षीया छोरी कविता भण्डारी र ३५ वर्षीया निम खनाल छन् । घटनामा कविता भण्डारीकी आमा ३६ वर्षीया रत्ना भण्डारी गम्भीर घाइते भएकी छन् । उनको टाउकोमा गम्भीर चोट लागेको र अहिले उपचारका लागि नेपालगञ्ज रेफर गर्ने तयारी भइरहेको छ ।

उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । अविरल वर्षाका कारण भीरबाट खसेको ढुङ्गाले त्रिपाल टाँगेर सुतिरहेका उनीहरुलाई लागेको थियो । तीमध्ये दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेलाई तत्काल उपचारका लागि स्थानीय स्वास्थ्य चौकी बारला पठाइएको थियो । मृतक खनाल र भण्डारी दुवै जना माइतीघरमा आएर महिनावारी भएपछि खेतमा पाल टाँगेर सुतेका थिए । भण्डारीकी ७ वर्षीया छोरी आमाको मायाले उनीहरूसँगै त्रिपालमुनी सुतेकी थिइन् । आमा गम्भीर घाइते हुँदा छोरीसहित थप एक जनाको मृत्यु भएको हो ।