जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुवैको मृत्यु भएको छ । शुक्रबार बिहान २ः५० बजेतिर जडिबुटीस्थत आकाशे पुलनजिकै सडकछेउमा रोकिराखेको बा प्र ०१,००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसमा स्कुटर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर बसको पछाडिको भागमा ठक्कर खाँदा स्कुटर चालक र पछाडी सवार व्यक्ति दुवै घाइते भएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराका अनुसार घाइते दुवैलाई तत्काल ट्रमा सेन्टर लगिएको र उपचारको क्रममा दुवैको मृत्यु भएको हो ।
स्कुटर चालक नवलपरासीको सुनौल–१ घर भइ हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल हुन् । उनको बिहान साढे ३ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
यस्तै, स्कुटरको पछाडि सवार काभ्रेपलाञ्चोक पाँचखाल–२ होस्केका २३ वर्षीय नितेश नेपाललाई बिहान ३ः४७ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
बस चालक दोलखाको भिमेश्वर नगरपालिका–७ घर भइ हाल काडाँघारी बस्ने वर्ष २५ को सुभाष तामाङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।