पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा नियमित वृक्षारोपणका कार्यहरू भइरहेका छन् ।
ग्रिन पोखरा क्लिन पोखरा अभियान अन्तरगत २ लाख २६ हजार बिरुवा लगाउने उद्देश्य सहित महानगरका विभिन्न क्षेत्रहरूमा भिन्न भिन्न प्रकृतिका बिरुवाहरू लगाउने कार्य अभियान कै रूपमा चलिरहेको छ । यसरी लगाइएका बिरुवाहरूको संरक्षण र गोडमेलमा समेत नियमित काम भइरहेको पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले बताए ।
बागलुङ हाइ वेको वडा नम्बर २५ खण्डमा लगाइएका ११ सय बिरुवाहरूको नियमित संरक्षण र डिभाइडर सौन्दर्यीकरणका लागि घाँस काट्ने, झार उखेल्ने लगायतका कार्य भइरहेको उनले बताए ।
डिभाइडरमा नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा विश्व वातावरण दिवसका दिन कल्की, धुपी, वेगमवेली लगायत ११ सय बिरुवाहरू लगाइएको थियो ।