Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

एमाले पार्टी कार्यालयमा शिक्षकहरुको धर्ना

नेपाल शिक्षक महासंघले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको पार्टी कार्यालयमा च्यासलमा धर्ना दिएको छ। प्रतिनिधिसभामा रहेको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघले आज (बिहीबार) बिहान ११ बजेदेखि धर्ना दिएको हो।

यसअघि बुधबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा महासंघले धर्ना दिएको थियो। शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिसडाँडामा धर्ना दिने कार्यक्रम रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट विगतमा भएको सहमति अनुसार विधेयक सच्याउन महासंघले माग गरेको छ। महासंघले एमाले महासचिव शंकर पोखरेललाई भेटेर आफ्नो मागबारे जानकारी गराएको छ।

अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति आन्तरिक प्रतिस्पर्धा ७५ प्रतिशत र खुला २५ प्रतिशत हुनुपर्ने माग महासंघको छ। विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला हुने राखिएको छ। विधेयकमा स्थायी शिक्षकको आवधिक बढुवाको प्रबन्ध समावेश नभएको, अस्थायी अवधिको गणना नभएको महासंघले जनाएको छ। म्याद सकिएका अध्यापन अनुमती पत्रको म्याद थप्ने कुरा नसमेटिएको र शिक्षकको विभागीय कार्बाहीको व्यवस्था सहमति अनुसार नभएको महासंघको भनाइ छ।

विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको र बालकक्षा शिक्षकको पद र सेवा सुविधा निश्चित नभएको निष्कर्ष महासंघको छ । संस्थागत विद्यालयका शिक्षकको सेवा र अव्यवहारिक सरुवा प्रणालीको व्यवस्था ल्याइएको महासंघको भनाइ छ । शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने विधेयकको प्रबन्धमा महासंघले विरोध जनाएको छ।

शिक्षण काउन्सिलको व्यवस्था र राष्ट्रिय परीक्षा बोर्डमा महासंघको प्रतिनिधित्व नराखिएकोमा महासंघले असन्तुष्टि जनाएको छ। सम्बोधन हुन छुटेका सबै विषय सहमति अनुसार प्रतिवेदनमा समावेश गर्न र प्रतिनिधि सभामा पेस गर्न नेपाल शिक्षक महासँगले सरकारसँग माग गरेको छ।