प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनार्दन शर्मा ‘प्रभाकर’ ले नपत्याउँदैमा माओवादी इतिहास र आन्दोलन नरोकिने बताएका छन् ।
आज (बिहीबार) विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै शेषनागले पृथ्वी थामेको छ भन्ने कुरा पुरानो भएको सन्दर्भमा पाटीको आगामी बैठकमा कुरा हुने जानकारी गराए । अध्यक्ष प्रचण्डले पार्टीभित्र स्वार्थ समूह रहेको भन्दै स्वार्थ समूहको बारेमा पहिचान समेत भइसकेको दावी गरे ।
उनले भने पाटीको विधि र पद्धति र लिडरसिप भन्दा स्वार्थमा केन्द्रित भएर मिटिङ बैठक गर्ने नै स्वार्थ समूह हुन् । अध्यक्ष प्रचण्डले जनार्दन शर्माले नपत्याएर माओवादी इतिहास र आन्दोलन नरोकिने जिकिर गरे । उनले भने, ‘प्रभाकरले नपत्याएर इतिहास र आन्दोलन रोकिन्न । यसलाई चर्काउने हिसाबले प्रश्न गर्न जरुरी छैन ।’
उनले वर्तमान गठबन्धनले संविधानसँग जोडिएका ऐन कानुन बनाउन अल्छी देखिएको आरोप समेत लगाएका छन् । नेपालको संविधान राम्रो भए पनि संविधानसँग जोडिएको ऐन कानुन नबन्दा संविधान कार्यान्वयनमा समस्या भएको बताए ।
उनले भने, ‘संविधान कार्यान्वयनमा एउटा पक्षले संविधानसँग जोडिएको ऐन कानुन बनाउन अल्छी देखायो । जसका कारण प्रहरी समायोजन ऐन, संघीय निजामती ऐनहरू नबन्दा संविधान कार्यान्वयनमा समस्या आएको छ ।’ उनले यो गठबन्धनले गरिरहेको कामको विषयमा जनतामा आक्रोशित भएको बताएका छन् ।
उनले भारत र चीनले लिपुलेक हुँदै व्यापार गर्ने गरी गरेको सम्झौताको विषयमा संवादबाट सीमानाको विवाद समाधान गर्नुपर्ने बताए । लिपुलेक, कालापानी सीमाना विवादका बारेमा आफू प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा जाँदा वार्ताबाट समस्या समाधान गर्ने सहमति भएको उनले बताए ।
उनले आफूले नै विद्या भण्डारीलाई राजनीतिमा आउने बाटो खोलिदिएको समेत दावी गरेका छन् । उनले भने, ‘पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा ल्याएपछि उहाँका लागि पनि बाटो खुलेको छ ।’ उनले यसले संविधानको सफलताको विषय राष्ट्रपतिहरू राष्ट्रिय राजनीतिमा पनि आउन सक्ने बताए ।