प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देलनले झापाबाट कसरी चुनाव जित्दा रहेछन् हेरौंला भन्दै टिप्पणी गरेका छन्।नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले बुधबार साँझ पार्टीका बागमती प्रदेशका अगुवा नेता–कार्यकर्तालाई बालुवाटार बोलाएर राप्रपा अध्यक्ष लिङ्देनले २०७९ को निर्वाचनमा एमालेको सहयोगमा चुनाव जितेको दावी गरेका छन् ।
२०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा अध्यक्ष लिङ्देनले नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै झापा क्षेत्र नम्बर ३ बाट ४० हजार ६६२ मत ल्याएर चुनाव जितेका थिए । एमाले उक्त क्षेत्रमा उम्मेदवार उठाएको थिएन भने अध्यक्ष ओली क्षेत्र नम्बर ५ बाट उठेका थिए । उक्त क्षेत्रमा पनि राप्रपाले आफ्नो उम्मेदवार खडा गरेको थिएन । ओलीले ५२ हजार ३१९ मत ल्याएर चुनाव जितेका थिए ।
‘राजेन्द्र लिङदेनले अब झापामा जितेको हेरौं न,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाले भने, ‘हिजो पो हामीले सहयोग गरेका थियौं ।’ त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफूले उपप्रधानसहित गृहमन्त्री आफूले बनाएको ओलीले दाबी गरेका थिए । एमालेका अगुवा कार्यकर्तासँगको छलफलमा प्रधानमन्त्री ओलीले एमालेले राष्ट्रियताबारे कुनै राजनीति नगर्ने समेत बताएका थिए ।
उनले आफ्नो नेतृत्वको सरकारविरूद्ध अदालतमार्फत् बाधा हाल्ने कोशिस भइरहेको बताएका छन् । सरकारमा रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्च अदालतमा हालिएको मुद्दा अहिले विचाराधीन छ । प्रधानमन्त्री ओलीको भनाइ त्यतैतर्फ लक्षित हो । ‘अदालतमार्फत बाधा हाल्ने कोशिस गरिएको छ, बाधा पन्छाएर अघि बढिन्छ,’ ओलीले भने ।