Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

स्वार्थ पूरा गर्न संविधानलाई पछाडि धकेल्न खोजिंदै छ: सन्तोष परियार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनको बहस ठिक दिशामा अगाडि नबढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आज (बुधबार) काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको १० वर्षको समीक्षा : उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

वर्तमान संविधान तुलनात्मक रूपमा प्रगतिशील भए पनि शक्ति संरचनामा निरन्तर प्रभुत्व कायम राख्न खोज्ने स्वार्थ समूहलाई मन पर्न नसकेको उनको टिप्पणी छ । उनले संविधानलाई अगाडि बढाउने भन्दा पनि संशोधनको बहानामा पछाडि फर्काउने बहस छेडिएको उल्लेख गर्दै यसप्रति सचेत हुन आवश्यक रहेको पनि बताए ।

उनले राजनीतिक दलहरूले संविधानको कार्यान्वयन नगरेको पनि आरोप लगाए । उनले संविधानको व्यवस्थाअनुसार राजनीतिक दल र नेतृत्वले व्यवहार नगर्दा दलको व्यवहारअनुसारको संविधान बनाउने षड्यन्त्र भइरहेको टिप्पणी गरे । संविधानले गरेको समानुपातिक व्यवस्था दलहरूले कार्यान्वयन नगरेको उनको आरोप छ ।