Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

राज्य व्यवस्था समितिमा न्यौपाने निर्विरोध, सम्हालिन् कार्यभार

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपाने निर्विरोध चयन भएकी छिन् । सभापतिमा उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध चयन भएको घोषणा गरिएको हो ।

निवर्तमान सभापति रामहरि खतिवडालगायतका समिति सदस्यले न्यौपानेलाई समिति बैठकमा खादासहित बधाई दिएका थिए । कुलिङ पिरियडमा छेडखानी प्रकरणमा मुछिएर रामहरि खतिवडाले राजीनामा दिएपछि सभापति पद खाली रहेको थियो ।

पार्टीको निर्णय अनुसार संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिमा उम्मेदवारी दिएकी थिइन् ।

कांग्रेसको समानुपातिक सांसद रहेकी न्यौपानेलाई कांग्रेसले यसअघि सभामुखको उम्मेदवार पनि बनाएको थियो । उनले आजैबाट नयाँ जिम्मेवारी सम्हालेकी छन् । चार दशक लामो राजनीतिक यात्रामा गरेकी न्यौपानेले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको जिम्मेवारी सम्हाल्न आइपुगेकी हुन् । उनले राज्यमन्त्री सरहको सुविधा पाउने छिन् ।