उखुको पुरा अनुदान भुक्तानीको माग राख्दै आन्दोलनमा उत्रेका उखु किसानले आज (बुधबार) पनि प्रदर्शन जारी राखेका छन् । किसानले काठमाडौंको माईतीघरमा आइतबारदेखि सुरू गरेको आन्दोलनलाई बुधबार पनि निरन्तरता दिएका हुन् ।
उखु उत्पादन महासंघ नेपालका अध्यक्ष श्यामबाबु रायले आर्थिक वर्ष २०८१÷८२ मा सरकारले तोकेको प्रतिक्वीन्टल ७० रूपैयाँका दरले अनुदान भुक्तानी पाउनु पर्ने आफूहरूको मुख्य माग रहेको जानकारी दिए ।
उनकाअनुसार गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्वीन्टल ६ सय ५५ रूपैयाँ तोकेको थियो । उक्त रकममध्ये उद्योगले ५ सय ८५ रूपैयाँ र सरकारले ७० रूपैयाँ अनुदान किसानलाई दिनुपर्नेछ । तर सरकारले ७० रूपैयाँ अनुदान नदिएको अध्यक्ष रायले बताए ।
सरकारले आर्थिक अभाव देखाएर उखु किसानको अनुदानलाई आधा कटौती गरेको छ । प्रतिक्वीन्टल ३५ रूपैयाँले किसानलाई अनुदान उपलब्ध गराउने गरी अर्थ मन्त्रालयले मंगलबार ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रूपैयाँ निकासा गरेको छ । तर सो रकममा किसानले चित्त बुझाएका छैनन् ।
अध्यक्ष रायले ७० रूपैयाँका दरले हुन आउने एक अर्ब ६० करोड रूपैयाँ बराबरको अनुदान निकासा गर्न सरकारसँग माग गरे । किसानले पाउने अनुदानको रकम घटाउने गरी सरकारसँग वार्तामा आफूहरू नबस्ने पनि अध्यक्ष रायले बताए । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मंगलबार कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंहको नेतृत्वमा उखु किसानसँग वार्ता गर्नको लागि समिति गठन गरेका छन् ।
उखु किसानले ‘उखु किसानको अनुदान कटौती गर्न पाइँदैन’, ‘उखु कृषक शोषण बन्द गर’, ‘किसानसँग भएका सम्झौता लागू गर’ लगायत माग लेखिएको प्लेकार्ड बोकेका प्रदर्शन गरेका छन् । नेपाल उखु उत्पादक महासंघको नेतृत्वमा किसाहरू सडक आन्दोलनमा होमिएका हुन् । उखु किसानको आन्दोलन भदौ १५ गतेसम्म चल्ने उखु उत्पादन महासंघका अध्यक्ष रायले बताए । उक्त बेलासम्म पनि सरकारले आफ्नो माग पूरा नगरे दोस्रो चरणको आन्दोलन घोषणा गर्ने अध्यक्ष रायले जानकारी दिए ।