Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त

कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन्। अर्थ मन्त्रालयले उनलाई सञ्चालकको रुपमा सिफारिस गरेपछि समितिको आज बसेको बैठकले सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।

व्यवस्थापकीय दक्षता र निजी–सार्वजनिक दुवै क्षेत्रको लामो अनुभवका कारण पौडेललाई कृषि विकास बैंकमा ल्याइएको मन्त्रालयले जनाएको छ।

नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक समेत रहेका पौडेलले निगमलाई कम्पनी मोडलमा लैजाने पहल गरेका थिए। उनले निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूमा २५ वर्षभन्दा बढी नेतृत्वदायी अनुभव हासिल गरेका छन्। चितवन मेडिकल कलेज, नेपाल क्यान्सर अस्पताल जस्ता संस्थालाई प्रभावकारी व्यवस्थापन गर्दै सफल बनाएको उनको अनुभव प्रशंसनीय मानिन्छ।

त्यसैगरी, वित्त तथा व्यवस्थापन परामर्शदाताका रूपमा उनले नेपाल तथा विदेशका १०० भन्दा बढी कम्पनीहरूलाई परामर्श सेवा दिएका छन्। हाल उनी ब्लु चिप्स भेन्चर क्यापिटल र ब्लु स्काई ईनर्जी लिमिटेडका अध्यक्षसमेत छन्।