लिपुलेक हुँदै सीमापार व्यापार गर्ने भारत–चीनको सहमतिको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनको अगुवाइमा आज (शनिबार) काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरिएको छ । उनीहरुले लैनचौरस्थित दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।
लिपुलेक नेपालको सार्वभौम भूभाग भएकाले भारत–चीनबीच उक्त क्षेत्रमा व्यापारिक नाका खोल्ने निर्णयको विद्यार्थीले विरोध गरे । यस्ता सम्झौता र हस्ताक्षरले नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई गम्भीर रूपमा चुनौती दिएकाले विरोध गरिएको उनीहरूले जनाएका छन् ।
यो विषयमा सरकारलाई पनि स्पष्ट धारणा सार्वजनिक, आवश्यक कूटनीतिक पहल गर्न र राष्ट्रियता संरक्षणमा दृढ कदम चाल्न आह्वान समेत गरिएको अखिल छैटौँका अध्यक्ष सुवास जिसीले बताए ।
प्रदर्शनमा सहभागीले ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, ‘गो ब्याक इण्डिया’, ‘गो ब्याक चाइना’ लगायत नारा लगाएका थिए।