Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

‘युवती मिलाइ दिने’ भन्दै ठगी, नयाँ बसपार्कका दुई डान्सबारबाट २७ जना पक्राउ

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा सञ्चालित दुई डान्स क्लबले ‘युवती मिलाइ दिने’ भन्दै ठगी गरेको आरोपमा प्रहरीले २७ जनालाई पक्राउ गरेको छ ।

नुवाकोट घर भएका पदमसिंह ठकुरीले सञ्चालन गरेको गोल्डेन बार एन्ड क्लब र कञ्चनपुर स्थायी घर भएका सुवास सिंह ठकुरीले सञ्चालन गरेको क्रिष्टल बार एन्ड क्लबले सडकमा हिँडिरहेको सर्वसाधारणलाई विभिन्न प्रलोभनमा बारमा लैजाने र बन्धक बनाएर रकम असुली गरेको आरोप प्रहरीको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले गएराति ९ बजे यी डान्सबारमा पुगेर डान्सबारका कामदारलाई नियन्त्रणमा लिएको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिल राज बोहराका अनुसार नियन्त्रणमा लिइएका २७ जनाविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।