आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

भाद्र ४, २०८२ बुधवार
भाद्र ४, २०८२ बुधवार
  • आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

    १- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नख्खु जेल पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । भेटपछि प्रचण्डले कांग्रेस एमालेले लामिछानेलाई दुख दिएपछि रास्वपालाई फाइदा भएको बुझेको उनले आफुलाई बताएको उल्लेख गरे ।  प्रचण्डले भैरहवाको तुलनामा नख्खु कारागारमा राम्रो सुबिधा रहेको आफुले पाएको बताए ।  लामिछानेसँग राजनीतिक विषयमा पनि छलफल भएको बताउदै उपसभामुखलाई हटाउन खोजेको बारे पनि चर्चा भएको जानकारी दिए । जनता सम्पूर्ण रुपमा कांग्रेस एमाले विरोधी भएर पनि सरकारले नचेतेको प्रचण्डको आरोप रहेको छ । लामिछानेले कांग्रेस-एमालेले आफु बिगो बराबरको रकम धितो राखेर बाहिर बसेर मुद्धा लड्न समेत नदिएको भन्दै गुनासो गएको प्रचण्डले बताए । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नताको आरोपमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछानेलाई गत साउन ३१ गते ललितपुरस्थित नख्खु कारागार ल्याइएको थियो । 

    २- नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलको नेताबाट गंगाराम चौधरीलाई हटाएकी छन् । श्रेष्ठले गंगारामलाई हटाएर आफैं दलको नेता बनेको बेहोराको पत्र संसद् सचिवालयमा पठाएकी हुन् । श्रेष्ठले गंगाराम चौधरीले पार्टीको हित विपरीत कार्य गरेकाले उनलाई पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदीय दलको भूमिकामा नरहने गरी साउन ३० गते कारबाही गरेको संसद सचिवालयलाई जानकारी गराएकी छन् । श्रेष्ठले पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोमा यस नागरिक उन्मुक्ति पार्टीको निर्णयअनुसार पार्टी अध्यक्ष स्वयंले संसदीय दलको नेताको भूमिका समेत निर्वाह गर्ने उल्लेख गरेकी  छन् ।

    ३- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको बारेमा फेरि एक पटक चकित पार्ने बयान दिएका छन् । ट्रम्पले मजाक गर्दै रूस र युक्रेनबीच शान्ति सम्झौता गराउन सफल भएमा आफ्नो स्वर्ग जाने सम्भावना बढ्ने टिप्पणी गरेका छन् । एक अमेरिकी टिभी च्यानलसँग कुरा गर्दै उनले भने, 'म स्वर्ग जाने प्रयास गरिरहेको छु । मैले सुनेको छु कि मेरो अवस्था राम्रो छैन, म तल छु । तर यदि म यो काम गर्न सक्षम भएँ भने, सायद यो कारण बन्नेछ कि म पनि स्वर्ग जाने बाटो पाउनेछु ।'

    ४- भुटानमा आजदेखि शुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले भारतसँग फराकिलो हार बेहोरेको छ । बुधबार सम्पन्न खेलमा नेपाल भारतसँग ७-० गोल अन्तरले पराजित भएको हो ।  पहिलो हाफमा ५-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप २ गोल खाएको थियो । नेपालले यस प्रतियोगितामा अब अगस्त २२ मा भुटानसँग, अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।

    ५- अभिनेता जीवन लुईँटेल ७ वर्षपछि फिल्म अभिनयमा फर्किएका छन् । फिल्मसम्बन्धी अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको नयाँ फिल्म ‘सकम्बरी’ बाट लुइँटेलको पुनरागमन हुने भएको हो । बुधबार उनले फिल्म सम्झौता गरेका हुन् । उनीसँगै फिल्ममा अभिनेता अर्पण थापाको पनि महत्वपूर्ण भूमिका हुने भएको छ । फिल्ममा अनुबन्धको सम्झौतापछि लुइँटेलले सामाजिक सञ्जालमा केही वर्षको कमर्शियल ब्रेकपछि फर्किएको बताएका छन् । उनले भनेका छन्- 'केही वर्षको कमर्शियल ब्रेकपछि म फर्किएको छु । फिल्म ‘सकम्बरी’मा ‘सुयोगवीर’को रुपमा फर्किँदैछु । मैले धेरै पटकथाहरू खोजेँ, तर मेरो मनलाई पछ्याएँ र यो रोजेँ । अनुभवी अर्पण थापासँग स्क्रिन सेयर गर्न म उत्साहित छु ।’

    ६- आज नेप्सेमा परिसूचकमा गिरावट आएको छ । नेप्से बुधबार ९.७० अंकले घटेर २७६७. २० विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका एक करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८६८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    ७- निजी विद्यालयले आफ्ना माग अगाडी सार्दै आन्दोलनको घोषणा गरेका छन् । निजी विद्यालयको संस्था प्याब्सन र एनप्याब्सनले संयुक्त रुपमा विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले शिक्षा ऐनमा पूर्ण छात्रवृति हटाउनुपर्ने, निजी निजी विद्यालयहरुले विहिबार काठमाडौँको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्याली निकाल्नेदेखि स्कुल बसको प्रदर्शन, बससहित कालोझण्डा लिएर चक्रपथ र्याली, संसद धर्नासम्मका कार्यक्रम सार्बजनिक गरेका छन् ।

    ८- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भृकुटीमण्डपमा जारी 'नाडा अटो शो' को अवलोकन गरेका छन् । सो अवसर मा उड्ने कारमा चढेका थिए । नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’ मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’ सम्म प्रदर्शनीमा राखिएको छ । नाडा अटो शोमा प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो ।

    ९- नेपालले मेलवर्न रेनेगेड्सलाई पराजित गरेको छ । बुधबार सम्पन्न टप इन्ड टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले मेलवर्न रेनेगेड्सलाई ३३ रनले पराजित गरेको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछाएको मेलवर्न रेनेगेड्सले २० ओभरमा १०६ रन बनाएर अल आउट भएपछि नेपाल ३३ रनले विजयी भएको हो । जारी सिरिजमा नेपालको यो दोस्रो जित हो । यस अघि सिरिजमा लगातार तीन हारपछि नेपालले लगातार दुई खेलमा जित हासिल गरेको छ । अब नेपालले शुक्रबार पाकिस्तान ए सँग खेल्ने तालिका रहेको छ ।

    १०- इजरायलले हमासले बन्दी बनाएका सबै बन्धकको रिहाईको माग गरेपछि युद्ध विरामको प्रस्ताव अलपत्र परेको छ । यसअघि हमासले कतार र इजिप्टले प्रस्तुत गरेको युद्ध विरामको प्रस्तावलाई स्वीकार गरेको थियो । तर इजरायलले गाजामा राखिएका सबै ५० बन्धकहरूको रिहाइको माग गरिरहेको छ, जसले गर्दा हमासले सोमबार सहमति जनाएको नयाँ ६० दिने युद्धविराम प्रस्ताव स्वीकार गर्ने कि नगर्ने भन्ने शंका उत्पन्न भएको बताइएको छ । कतार र इजिप्टले प्रस्तुत गरेको प्रस्तावमा लगभग आधा बन्धकहरूको रिहाइ हुने र कतारका अनुसार यो प्रस्ताव इजरायलले पहिले स्वीकार गरेको अमेरिकी प्रस्तावसँग समान रहेको बताएको छ । इजरायलले यसलाई स्पष्ट रूपमा अस्वीकार गरेको छैन तर इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले इजरायलले आंशिक सम्झौतामा रुचि नराख्ने बताएका छन् । उनले अब चीजहरू परिवर्तन भएको बताउदै प्रधानमन् बेन्जामिन नेतान्याहूले गाजाको भविष्यको लागि योजना बनाएको बताएका छन् । हमासले युद्ध विरामको सम्झौता भएमा १० जीवित र १८ मृत बन्धकहरूलाई पहिले हस्तान्तरण गरिनेछ, त्यसपछि दुवै पक्षले स्थायी युद्धविराम र अन्य बन्धकहरूको फिर्ताको लागि वार्ता गर्ने उल्लेख छ । इजरायलले २२ महिनाको युद्ध पछि ५० बन्धकहरू मध्ये २० मात्र जीवित रहेको विश्वास गरेको छ ।

    ११- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख पदको अवमूल्यन गरिरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद परियारले बालुवाटार, बूढानीलकण्ठ र सिंहदरबारको बैठकबाट उपसभामुख इन्दिरा रानामाथि बारम्बार आक्रमण भइरहेको बताउदै आफुहरुले यस्तो अपमान नसहने बताए । उनले भने- 'सांसदको विवेक बन्दी नबनाऊ । सांसद आफै सार्वभौम हो  । आज रास्वपालाई निषेध गर्न खोजिदैछ । बारम्बार कार्यपालिकाले व्यवस्थापिकामाथि अवमुल्यन भएको छ उपसभामुख पदको अवमूल्यन भइरहेको छ । बालुवाटार र बूढानीलकण्ठको बैठकबाट बारम्बार उपसभामुखमाथि आक्रमण भएको छ ।'

    १२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद सन्तोष परियार र राप्रपाका सांसद रोशन कार्कीले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

    १३- प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रश्नोत्तर स्थगित भएको छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओली स्वास्थ्यका करणले आजको प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा उपस्थित नहुने जानकारी दिएका हुन् ।

    १४- सभामुख देवराज घिमिरेले बुधबार सिंहदरवारमा पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग भेट गरेका छन् । काठमाडौंमा जारी द हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ मा सहभागी हुन नेपाल आएका पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग सभामुखले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

    १५- अफगानिस्तानमा भएको सडक दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १७ बालबालिका रहेको मिडिया रिपोर्टमा उल्लेख छ । इरानबाट उद्धार गरिएका अफगान आप्रवासीहरू बोकेको बस आगलागी भएको बताइएको छ । तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्लाह मुत्ताकीले काबुल जाँदै गरेको बसमा आगलागी भएको बताए । बसमा रहेका सबैको मृत्यु भयो र यससँगै ठोक्किएका दुई सवारी साधनमा रहेका दुई जनाको पनि मृत्यु भएको बताइएको छ ।

    १६- भारतको दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण भएको छ । यो घटना दिल्लीको मुख्यमन्त्री निवासमै  भएको हो । मुख्यमन्त्री रेखा सीएम हाउसमा सार्वजनिक सुनुवाइ गरिरहेकी थिइन् । त्यस क्रममा ३५ वर्षीय एक व्यक्तिले उनीमाथि आक्रमण गरेको र प्रहरीले आरोपी आक्रमणकारीलाई पक्राउ गरेको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ । भाजपाले दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि बुधबार बिहान सिभिल लाइन्सस्थित उनको सरकारी निवासमा आयोजित 'जन सुनवाई' कार्यक्रमको क्रममा आक्रमण भएको बताइएको छ । भारतीय जनता पार्टीले यो सम्पूर्ण घटनाको निन्दा गरेको छ ।

    १७- ईलामको पुवा खोलामा निर्मित बेलिब्रिज पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ । बुधवार बेलिब्रिज पलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो ।  नगरपालिका वडा नम्बर ९ र ११ जोड्ने यो बेलिब्रिज पुल भारतीय सरकारको सहयोगमा बनेको हो । सेप्टेम्बर २०२४ को बाढी पछि, भारतले बाढीबाट भत्किएका महत्वपूर्ण सडक पूर्वाधारहरूको पुनर्निर्माण र सम्पर्क सुदृढीकरणका लागि अनुदान अन्तर्गत १० वटा पूर्वनिर्मित स्टील पुलहरू नेपाललाई प्रदान गरेको थियो । पुवा खोलाको पुल यी १० पुलहरू मध्ये एक हो ।

    १८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १६ सयले घटेर तोलाको एक लाख ९३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ९५ हजार एक सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर २२५५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २३ सयमा कारोबार भएको थियो । 

    १९- फिनल्याण्डका एक सांसदले संसद भवनमा मृत भएका छन् । सामाजिक लोकतान्त्रिक पार्टीका ३० वर्षीया सांसद एमेली पेल्टोनेनले संसद भवनमै मृत भेटिएको र यो आत्महत्या हुनसक्ने मिडिया रिपोर्टमा उल्लेख छ । उनी स्थानीय समय अनुसार मंगलबार बिहान संसद भवनमा मृत फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनले आत्महत्या गर्नुको कारण स्पष्ट नभएको बताइएको छ । उनको आकस्मिक मृत्युले फिनल्याण्डलाई स्तब्ध बनाएको छ, सबै पक्षका राजनीतिज्ञहरूले दुःख व्यक्त गरेका छन् । दक्षिणी क्षेत्र उउसिमाको प्रतिनिधित्व गर्ने एल्टनेनले २०२३ मा निर्वाचित भएर संसद सदस्यको रूपमा आफ्नो पहिलो कार्यकाल शुरु गरेका थिए ।

    २०- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले जितसँगै नयाँ सिजनको शुरुवात गरेको छ ।गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले ओसासुनालाई १-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा खेलको ५१औं मिनेटमा किलीयन एम्बाप्पेले पेनाल्टी मार्फत गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि रियल म्याड्रिडले महत्वपूर्ण ३ अंक हासिल गर्दै सिजनको सकारात्मक शुरुवात गरेको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार