Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

प्रचण्डसँग रविले भने– गठबन्धन मप्रति अनुदार बन्यो, मलाई मात्र लखेट्यो

‘रविजी दुब्लाउनु भएको रहेछ, अभिभावकको रूपमा भेटेको हुँ’

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेटेका छन् । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भैरहवा नै गएर भेट्न चाहेको भए पनि समय नमिलेर बताएका छन् ।

लामिछानेको भैरहवा कारागारको भन्दा बसाइँ यहाँको राम्रो पाइएको उनले जानकारी दिए । प्रचण्डले भने, ‘मेरै जस्तो केसमा अरूले चाहिँ उन्मुक्ति पाउने, मेरो भन्दा गम्भीर केस भएकालाई उन्मुक्ति दिइयो, मलाई मात्रै लखेटियो भन्ने कुरा राख्नु भयो । मैले सदनदेखि सडकसम्ममा पनि बोलेको कुरा उहाँलाई थाहा छँदै थियो । अदालतले नै तोकेको बिगो बैङ्क धरौटी राखेर मुद्दा लड्छु भन्दा पनि सुविधा पाइनँ।’

उनले गठबन्धन आफूप्रति अनुदार भएको गुनासो गरेको बताए । बिगो बुझाएर मुद्दा लड्न पाउने कुरालाई सबैले विचार गर्नुपर्ने बताएको अध्यक्ष प्रचण्डले सुनाए ।

उनले थपे, ‘उहाँमाथिको विभेद कम होस्, उहाँलाई सहज वातावरण बनोस् भन्ने कुरा हो । तर मैले उहाँलाई राजनीतिक रूपमा कांग्रेस एमालेको आफूलाई गरेको व्यवहारले पार्टीलाई राम्रो फाइदा भएको बुझ्नु भएको रहेछ ।’

उनले लामिछाने आफू प्रधानमन्त्री हुँदा दुई पटक गृहमन्त्री भएको भन्दै अभिभावकको हिसाबले भेटेको बताएका छन् । लामिछाने पहिलाको भन्दा दुब्लाएको पाएको पनि जनाए । उनले भने, ‘भैरहवामा हुँदा नाजुक हुन खोजेको रहेछ । यहाँ आएपछि सुधार हुँदैछ । तर, उहाँ दुब्लाउनु भएको छ । उहाँको अनुहारमै देखिन्छ, कमजोर भएको ।’