Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

कांग्रेस–एमाले दुई दलीय व्यवस्थाको अवधारणामा अघि बढे : माओवादी

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले नेपाली कांग्रेस र नेकपा एमाले दुई दलीय शासन व्यवस्थाको अवधारणामा अघि बढेको भन्दै आपत्ति जनाएका छन् ।

आज (बुधबार) को प्रतिनिधि सभाको बैठकमा बोल्दै बस्नेतले नेपालमा दुई दलीय व्यवस्थाको अवधारणा सैद्धान्तिक र व्यवहारिक रूपमा पनि उपयुक्त नहुने र त्यसको अभ्यास गलत हुने बताएका हुन् ।

‘कांग्रेस र एमाले दुई दलीय व्यवस्थाको मिसनमा हिँडेको देखिन्छ । नेपालमा दुई दलीय व्यवस्थाको अवधारणा सैद्धान्तिक र व्यवहारिक रूपमा पनि उपयुक्त छैन,’ उनले भने, ‘यो दुई दलीय व्यवस्थाको मिसन अन्ततः एक दलीयमा पुग्ने होला र प्रमुख दुई दलमध्ये त्यो अवसर कसले प्राप्त गर्नु हुनेछ ? त्यो उहाँहरूले नै सोचिराख्नु भएको होला ।’

उनले दुई दलीय प्रयोग अन्ततः एक दलीय व्यवस्थातर्फ धकेलिने उल्लेख गर्दै सत्तारूढ दलहरूको दुई दलीय मिसन नेपाली जनताले पुरा हुन नदिने टिप्पणी समेत गरे । उनले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयास सामाजिक न्याय र समावेशी अनुकूल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।