Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

बालुवाटार र बूढानीलकण्ठले बारम्बार उपसभामुखमाथि आक्रमण गर्दैछन्: रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक सन्तोष परियारले सत्तारूढ दलहरूले उपसभामुख पदको अवमूल्यन गरिरहेको बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा परियारले बालुवाटार र बूढानीलकण्ठको बैठकबाट उपसभामुख इन्दिरा रानामाथि बारम्बार आक्रमण भइरहेको बताए ।

‘सांसदको विवेक बन्दी नबनाऊ । उपसभामुख पदको अवमूल्यन भइरहेको छ । बालुवाटार र बूढानीलकण्ठको बैठकबाट बारम्बार उपसभामुखमाथि आक्रमण भएको छ’, उनले भने । परियारले मंगलबार सिंहदरबार र बालुवाटारमा सत्तारुढ दलले प्रहसन देखाएको आरोप लगाए ।

उनले भने, ‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रहसन भयो, त्यसले सम्मानित सदनलाई चोट पुर्‍याएको छ, लोकतन्त्रको विरासत धानेका भन्नेहरूले सम्मानित सदनको सार्वभौम संसदको उपसभामुख जस्तो जिम्मेवार पदलाई जुन तहको अवमूल्यन भएको छ यो लोकतन्त्रका लागि निकै ठूलो खतरा भएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्याइ हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीलाई निषेध गर्न खोजिएको उनको आरोप छ । ‘आज रास्वपालाई निषेध गर्न खोजिँदैछ, नयाँहरूलाई निषेध गर्न सकिँदैन, समाज विज्ञानले प्रमाणित गरेको कुरा हो, कुनै पनि नयाँहरूलाई समाजले निषेध गर्न सक्दैन, हो हामीलाई कमजोर बनाउन खोजिएला तर हामीलाई निषेध गर्न यो समाजले सक्दैन, यो नयाँ युगले सक्दैन भन्ने हाम्रो ठम्माइ हो,’ उनले भने ।

बारम्बार कार्यपालिकाले व्यवस्थापिकालाई आक्रमण गरेको भन्दै टुलुटुलु हेरेर बस्न नसक्ने उनको भनाइ छ । सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले उपसभामुख रानालाई पदबाट हटाउने प्रयोजनका लागि सांसहरूको हस्ताक्षर संकलन गरेका छन् ।