रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ । काठमाडौंबाट दोलखाको चरिकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएका स्थानीय सञ्जीव चौहानले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताए । गत वर्ष पनि सोही स्थानमा लेदो पसेर सडक बिग्रिएपछि जालीसहितको वाल उठाएर मर्मत गरिएको थियो । तर यस वर्ष तामाकोशी नदीले कटान गर्दा सडक जालीसँगै सडक भासिएको थियो ।
रामेछापको अधिकांश गाउँलाई सदरमुकामसँग जोड्ने सडक अवरुद्ध हुँदा उमाकुण्ड, लिखु तामाकोशी, गोकुलगंगा गाउँपालिका र दोलखाबाट राजधानीतर्फ गएका यात्रुहरू बीचमै रोकिनु परेको थियो ।
त्यस्तै दोलाखाको तामाकोशी गाउँपालिका–४ मालुखोला नजिकै ढुङ्गा झरेर अवरुद्ध भएको सडक समेत खुलेको छ । मंगलबार राति ९ बजे मालुखोला नजिकै चरिकोट मन्थली सडक खण्डमा माथिबाट ढुङ्गा झरी सडक पूर्ण रुपमा अवरोध भएकोमा सडक विभाग, स्थानीय र प्रहरीको सहयोगमा सडक सञ्चालनमा आएको दोलखा जिल्ला प्रहरी प्रमुख ज्ञानकुमार महत्तोले जानकारी दिए ।