Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

सरकार प्रतिशोधको राजनीतिमा उत्रियो : हृदयेश त्रिपाठी

हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले सरकार प्रतिशोधको राजनीतिमा उत्रिएको आरोप लगाएको छ । अध्यक्ष त्रिपाठीले लामो समयपछि गौर हत्याकाण्ड घटना ब्युँत्याएर प्रतिशोधको राजनीति गर्न खोजेको बताए । ‘घटना दुर्भाग्यपूर्ण हो । तर, यति लामो समयपछि सरकारले घटना ब्युँत्याएर के गर्न खोजेको हो ?’ उनले भने ।

दुई ठूला दल मिलेर बनेको सरकार प्रतिशोध साँध्न मात्र केन्द्रित देखिएको उनको भनाइ छ । यसैबीच संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मुल समितिको बैठक बुधबार (आज) बस्दै छ । काठमाडौंको थापागाँउस्थित जनता प्रगतिशीलको कार्यालयमा साँझ ५ बजे बैठक बस्ने त्रिपाठीले जानकारी दिए ।

बैठकमा गौर हत्याकाण्ड, रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचन तयारीलगायत विषयमा छलफल हुने उनको भनाइ छ । संघीय लोकतान्त्रिक मोर्चामा सम्बद्ध राजनीतिक दलबीच पनि एकताको सम्भावना खोजी गर्ने तयारी सुरु भएको छ ।

मधेसको धरातलमा उदाएका मधेस केन्द्रित दलको अस्तित्व धरापमा परेपछि एकता गरेर अघि बढ्ने मोर्चाभित्र बहस सुरु भएको छ ।