Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

निजी विद्यालयको ‘घाँटी अँठ्याउने’ कानून बनाउन हुँदैन: मन्त्री पन्त

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिने व्यवस्था मूल कानूनमा नराख्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा सरकारको धारणा प्रस्तुत गर्दै मन्त्री पन्तले यस्तो आग्रह गरेका हुन् । उनले पूर्ण छात्रवृत्तिको विषय मूल कानूनमा नभई नियमावलीमा राख्न उचित हुने बताए ।

विधेयकबारे नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा पूर्ण छात्रवृत्ति भन्नाले शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शिक्षा सामग्री, पोशाक, यातायात, आवासीय सुविधा (विद्यालयमा उपलब्ध भएमा) लगायत विद्यालयले लिने शुल्क तथा उपलब्ध गराउने सुविधा भनिएको छ ।

मन्त्री पन्तले सामुदायिक गुठी तथा निजी विद्यालयलाई संरक्षण र नियमन गर्ने सरकारको दायित्व भए पनि निजी विद्यालयको घाँटी अठ्याउने गरी कानून बनाउन नहुने बताए । उनले निजी विद्यालयलाई नियमन गर्न सरकार प्रतिवद्ध रहेको समेत मन्त्री पन्तले बताए ।

गत २२ साउनमा बसेका समितिको बैठकमा पूर्ण छात्रवृत्तिबाट आवास र पोशाक झिक्नु पर्ने प्रस्ताव राखिएको थियो । तर सदस्यहरूले नमानेपछि प्रस्ताव पारित हुन सकेको थिएन । यही विषयलाई लिएर निजी विद्यालय सञ्चालकहरूले चरणवद्ध आन्दोलन गरिरहेका छन् ।