Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

कांग्रेस र एमालेबीच गठबन्धनले अस्थिरताका रोगीहरु छटपटाए: महासचिव पोखरेल

सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस र एमालेबीचको गठबन्धन आगामी निर्वाचनसम्मै जाने बताएका छन् । आज (सोमबार) प्रेस चौतारी नेपाल कञ्चनपुर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले यसका लागि संसद् र राजनीतिक दलहरूप्रति विश्वास गर्न समेत आग्रह गरेका छन् । पोखरेलले सरकार आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला चलाउने अस्थिरताका लागि विचित्रको रोग लागेको बताए ।

‘दुई ठूला दल मिलेर सरकार बनेको छ, स्थिरता देखिएको छ,’ महासचिव पोखरेलले भने, ‘तर अस्थिरताको रोग लागेकाहरू सरकार आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला चलाइरहेका छन् ।’ महासचिव पोखरेलले बाहिरको हल्लाको कुनै काम नहुने बताएका छन् । कांग्रेस र एमाले बीचको गठबन्धन आगामी निर्वाचनसम्मै जाने उनले बताए । कांग्रेस नेता शेखर कोइरालालाई लक्षित गर्दै महासचिव पोखरलले एकातिर सत्तामा हिस्सेदारी खोज्ने र अर्कोतर्फ विरोध गर्दै हिँड्नु अनैतिक भएको बताए ।

त्यस्तै, सूचनाको हक कुण्ठित हुने कुनै पनि खालको कानुन नबन्ने पनि महासचिव पोखरेल स्पष्ट पारेका छन् । उनले सञ्चार क्षेत्रलाई व्यवस्थित र सुरक्षित गर्न मिडिया काउन्सिल विधेयक ल्याइन लागेका बताए ।

‘संसद्ले सूचनाको हक कुण्ठित हुने कुनै कानुन बनाउँदैन, हामीले यही विश्वास गर्नुपर्छ,’ पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘अहिले स्वतन्त्रताका नाममा अराजकता बढेको छ, त्यसलाई नियन्त्रण गर्न खोजिएको हो, संविधानसँग बाझिने कुनै कानुन बन्दैन ।’

‘सरकारमा सहभागी भएपछि जस–अपजसको भागिदार हुनुपर्छ, तर सरकारमा हिस्सा पनि खोज्ने अनि विरोध पनि गर्दै जाने, यो नैतिकता होइन,’ उनले भने । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा महासचिव पोखरेलले लोकतान्त्रिक पद्धतिको संस्थागत विकासका लागि पनि राष्ट्राध्यक्ष भइसकेको व्यक्तिले फेरि राजनीतिमा फर्किनु उचित नहुने बताए ।

‘हामीले पूर्व राष्ट्रपति सम्मानित भूमिकामा रहनु पर्छ भनेका हौँ, त्यसो भइसकेपछि सदस्यताका विषयमा कुनै विवाद नै रहेन,’ महासचिव पोखरेलले भने, ‘यो लोकतन्त्रको मूल्य मान्यतासँग जोडिन्छ, व्यक्तिसँग जोडन आवश्यक छैन ।’ उनले पूर्व उपराष्ट्रपतिलाई माओवादीले उपाध्यक्ष बनाएको प्रति गल्ती गरेकाले सच्याउन समेत सुझाव दिएका छन् ।