महिला अधिकारको पूर्ण कार्यान्वयनको माग गर्दै आज माइतीघरमण्डलामा महिला अधिकारका लागि दबाव अभियान अन्तर्गत स्वासा नेपालको संयोजनमा सडक धर्ना सम्पन भएको छ ।
संविधानले सुनिश्चित गरेका अधिकारहरूलाई व्यवहारमा लागु गराउन तथा विभेदकारी कानून निर्माणको प्रतिकार स्वरूप आयोजना गरिएको यो धर्ना कार्यक्रम केही साता अघि सम्पन्न धर्ना कार्यक्रमको निरन्तरता हो । अभियानले महिलाविरुद्ध हुने हिंसा, सबै किसिमको श्रमको सम्म्मान, महिलाको विविधता, दण्डहिनताको अन्त्य, कानूनी राज्य र लोकतन्त्र सुदृढीकरणका सवालमा निरन्तर दबाव सिर्जना गर्दै आइरहेको छ ।
धर्ना कार्यक्रममा महिला मानव अधिकार रक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालका संस्थापक अध्यक्ष डा. रेणु अधिकारीले हाल सरकारको कमजोर नीतिका कारण महिलाहरूले भोग्नु परेका हिंसाको प्रमुख कारणको पछाडि सरकारको लाचारीपन रहेको, महिलामाथि हुने हिंसा अन्त्य गर्ने प्रमुख जिम्मेवारी सरकारको रहेको तर सरकारले वेवास्ता गरिरहेको छ भन्ने विचार व्यक्त गरिन् ।
कार्यक्रममा “संविधानले दिएको हक कागजमा भयो किन लक?” “मेरो शरीर मेरो अधिकार", "दण्डहिनता अन्त्य गर", “सबै श्रमको सम्मान गर”, “महिलाको विविधता स्वीकार गर”भन्ने नाराहरू लगाइएको थियो ।
धर्नाको अन्त्यमा, स्वासाको तर्फबाट शान्ती तिवारीले, श्रम छनौट गर्न पाउने संवैधानिक अधिकार यौनश्रममा पनि लागु हुनुपर्छ भन्दै यौनश्रमलाई सुरक्षित गर्न सरकारसँग ‘यौनश्रमलाई निरापराधीकरण गर्नुपर्छ’ भन्ने माग राखेकी थिइन् ।