Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

भैरहवा कारागारको भित्तामा रविले लेखेः अब कृष्ण जन्मँदैनन्, जन्मेकैहरू कृष्ण बन्नुपर्छ

‘राजनीतिक प्रतिशोधले आफूलाई मंगल ग्रह लगे पनि डराउँदिनँ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राजनीतिक प्रतिशोधले आफूलाई मंगल ग्रह लगे पनि नडराउने बताएका छन् । रुपन्देहीबाट नख्खु कारागार सरुवा भएर आउने क्रममा भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वणिम वाग्ले र प्रवक्ता मनिष झासँग उनले यस्तो बताएका हुन् ।

रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागारमा आउन लागेका सभापति लामिछानेले आफू बसेको भित्तामा केही लेखेर आएको जानकारी पार्टीका नेताहरूलाई गराएका छन् । भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झालाई भेट्ने क्रममा उनले आफूले भित्तामा लेखेका विषयको जानकारी गराएका छन् ।

रविलाई भेटेपछि प्रवक्ता झाले भने, ‘सेतो सर्ट र खरानी रङको पाइन्टमा उज्यालो अनुहार धपक्क बलेको कारागार स्थानान्तरणले कुनै त्रास थपेको छैन, कुनै डर छैन, केही छैन ।’ भेटमा सभापति लामिछानेले भैरहवामा १२६ दिन बसेको बताएको पनि सुनाएका छन् ।

रविको भनाइ उदृत गर्दै उनले थपे, ‘पुरै नेपाल मेरो घर हो । सबै नेपाली आफन्त हुन, सबैसँग माया छ, सद्भाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ । भैरहवाको हावापानी, यहाँको आमा बुवा, दाजुभाइ दिदी बहिनी सबैप्रति कृतज्ञ छु । मलाई सुरक्षा दिनु हुने सुरक्षाकर्मी साथीहरू मलाई १२६ दिनसम्म जे जस्तो हुन्छ खाना अन्नको व्यवस्थापन गरिदिने कारागार प्रशासन लगायत सबैप्रति आभारी छु ।’

राजनीतिक प्रतिशोधले जसरी सक्छन्, जता सक्छन् लगे पनि आफू तयार रहेको बताएको उनले सुनाए । ‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु । अब कृष्ण जन्मिने छैनन् । जन्मेकाहरूले नै कृष्ण बन्नु पर्नेछु रविले भेटमा भने, ‘४६३ दिन पहिले एक जनाले प्रमाण छ भनेर भने । मैले प्रमाण मागे उसले बल प्रयोग देखायो । मैले न्याय मागे उसको संयन्त्रले प्रतिशोध साँध्यो । तर पनि म भयभीत छैन । किनकि म जनताको अदालतमा विश्वास गरेर परिवर्तनको लागि सबै त्यागेरै हिँडेको मान्छे हुँ ।’