Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

भूमि विधेयकको छलफल किन भयो दुई मिनेटमै स्थगित ?

आन्तरिक बैठकबाटै निस्किए मन्त्री अधिकारी

भूमिसम्बन्धी विधेयकको प्रतिवेदनलाई अन्तिम रूप दिन बोलाइएको बैठक दुई मिनेटमै स्थगित भएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक शनिबार बिहान साढे १० बजेका लागि बोलाइएको थियो ।

बिहान साढे १० बजे वरिपरि नै सांसदहरू जम्मा भएका थिए । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी पनि समयमै उपस्थित भए । मन्त्री र सांसदहरु एक घण्टा आन्तरिक छलफलमा रहे ।

आन्तरिक छलफलबाटै भूमिमन्त्री अधिकारी बाहिरिए । भूमिमन्त्री बलाराम अधिकारी करिब एक घण्टा आन्तरिक छलफलमा रहेर निस्किए । बैठकको एजेण्डा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रूप दिने थियो ।

समिति सभापति कुसुमदेवी थापाले विधेयकको प्रतिवेदन तयार भएको बताइन् । तर, आन्तरिक छलफलमा थप अध्ययन गर्न समय चाहिने उनले जानकारी दिइन् । थप अध्ययनपछि अर्को बैठक बस्ने उनको भनाइ छ । सभापति थापाले बैठक सुरु भएको दुई मिनेटमै स्थगित भएको जानकारी गराएकी थिइन् ।