प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लागूपदार्थबाट पीडित भइरहेको बताएका छन् । आज (शुक्रबार) मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘आज नेपाल नै लागूपदार्थबाट पीडित भइरहेको छ । हाम्रा बालबालिकाहरू फसाइरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘केही पैसाका लागि देशलाई बर्बादीतर्फ धकेल्ने प्रयास भइरहेको छ।’ त्यसमा पनि मधेस प्रदेश अझ सजिलो गरी ड्रक्स भित्रिने र बालबालिका र युवाहरू फसाइने क्रियाकलाप भइरहेको असहज स्थिति देखिएको प्रधानमन्त्री ओलीले बताए ।
यस्तै भन्सारबाट उठ्नु पर्ने जति राजस्व नउठेको पनि उनले बताए । ‘हाम्रो भन्सार, बोर्डर खुला छ । त्यसको दुरुपयोग गरेर नाजायज फाइदा उठाउनेलाई रोक्नुपर्ने छ,’ उनले भने । मधेस प्रदेशमा केही सिकायत आइरहेको बताउँदै निर्दोष फसाइने, दोषी उम्काउने किसिमका विषयमा प्रहरीले सचेत हुनुपर्ने उनले बताए ।