Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको गण्डकी प्रदेश समिति उद्घाटन

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (एफआइएनवाइइ) को गण्डकी प्रदेश समिति गठन तथा उद्घाटन कार्यक्रम शनिबार पोखराको लेकसाइडस्थित बार पीपल रिसोर्टमा सम्पन्न भएको छ ।  ‘परिवर्तनका निर्माताहरूलाई जोड्दै, प्रगतिको खेती गर्दै एफआइएनवाइइ गण्डकी अगाडि बढ्छ’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा एफआइएनवाइइले गण्डकी प्रदेशमा औपचारिक रुपमा आफ्नो उपस्थिति जनाउँदै नेपालभर उद्यमशीलताको प्रवद्र्धन गर्ने अभियानलाई नयाँ ढंगले अघि बढाएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका युवा उद्यमी, सञ्चारकर्मी, संघ–संस्थाका प्रतिनिधि र अन्य सरोकारवाला व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । उद्यमी महासंघका अध्यक्ष स्वतन्त्र प्रताप शाहले उद्घाटन गर्दै महासंघको उद्देश्य, भावी योजना र गण्डकी प्रदेशमा यसको भूमिका स्पष्ट पारे ।

उनले भने, ‘गण्डकी प्रदेश समितिको स्थापना हामी नेपाली युवा उद्यमीहरुलाई देश तथा विदेशमा सञ्जाल विस्तार, ज्ञान साझेदारी र सहकार्यको नयाँ अवसर प्रदान गर्ने विश्वास लिएका छौं ।’ बागमती समितिको सफल सुरुवातपछि अब उद्यमी महासंघले गण्डकी प्रदेशमा आफ्नो औपचारिक कार्ययात्रा सुरु गरेको हो । कार्यक्रमले स्थानीय तथा राष्ट्रियस्तरका उद्यमीहरुलाई जोड्ने, सीप आदानप्रदान गर्ने र उद्यमशीलताको सशक्तिकरणमा टेवा पु¥याउने विश्वास लिइएको छ ।