Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

उर्मिला हायूका परिवारमाथि गरिएको टिप्पणीप्रति हायू समाजको आपत्ति

सिन्धुलीबाट बेपत्ता भएका भनिएका हायु परिवार पोखराम भेटिएपछि उनीहरुमाथि पूर्वाग्राही ढंगले टिप्पणी भएको भन्दै  हायू समाज नेपालले आपत्ति जनाएको छ ।

अध्यक्ष लक्ष्मण हायुले विज्ञप्ति जारी गर्दै सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका- ३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई सामाजिक सुरक्षा भत्तासँग जोडेर गलत टिप्पणी गरेको भन्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ- 'यस घटनालाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हचुवा र आधारहीन समाचारहरु अनर्गल तरिकाले प्रसारण गरिएको पाइयो । परिवारको अस्थायी बसाइ र श्रमसँग सम्बन्धित उनीहरुको स्वेच्छिक निर्णयलाई सामाजिक सुरक्षा भत्ता संग जोडेर गरिएको आग्रह पुर्वाग्रपुर्ण गलत टिप्पणी प्रति हामी गहिरो खेद प्रकट गर्दछौं । घोर आपत्ति जनाउदछौ । यस्ता आग्रह पुर्वागह्रपुर्ण गलत टिप्पणी सर्वथा असभ्य, अशिष्ट र बिकृत मानसिकताको उपज बाहेक अरु केही हैन । हाम्रो हायू समुदाय आफ्नो श्रम, इमानदारीता र आत्मसम्मानमा जीवनयापन गरि आएको आदिवासी समुदाय हो । यस्तो आधार विहनि र हचुवा प्रचार-प्रसारले केवल यो परिवारजनलाई हैरानी मात्र होइन, समग्र समुदायको भावना र सम्मान माथि प्रहार भएको अनुभूति हामीले गरेका छौं । सबै सञ्चार माध्यमहरूलाई सत्य, तथ्यमा आधारित भई आधिकारिक एवं प्रमाणिक समाचार मात्र सम्प्रेषण गर्न आग्रह गर्दछौं । साथै, समाजमा भ्रम र अफवाह फैलाएर आफ्नो दुनो सोझ्याउने गतिविधिवाट समुदायका सबैलाई सतर्क र सचेत रहन अनुरोध गर्दछौं ।'

साथै समाजले यो परिवारको पुनःस्थापना र व्यवस्थापनका लागि स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारसँग माग पनि गरेको छ ।स्थानीयले खबर गरेपछि  सोमबार खोजी गर्दै जादा उनीहरु पोखरा-३० गगनगौडामा भेटिएका थिए । उनीहरुले आफुहरुको आर्थिक स्थित कमजोर भएको र पोखरामा मजदुरी गर्न आएको बयान प्रहरीमा दिएका छन् ।