Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

स्कुल बसबाट ओर्लिने क्रममा चक्काले च्यापिएर पाँच बर्षीया छात्राको मृत्यु

सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–७ मोहनजंगस्थित सडकमा स्कुल बसले च्यापिएर एक पाँच बर्षीया बालिकाको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका–१ चौलिखास्थित टेमुको एकेडेमी स्कुलको बसले ठक्कर दिएर सोही स्कुलमा अध्ययनरत पाँच वर्षीया छात्राको निधन भएको हो । मृत्यु हुनेमा ब्रहम्पुरी गाउँपालिका–७ मोहनजंग बस्ने रमेश महतोको छोरी आशिका रहेको प्रहरीले जनाएको छ ।

बसबाट झर्ने क्रममा बसको पछाडिको चक्काले च्यापिएर उनको टाउकोमा चोट लागेको थियो । तत्काल उनलाई जीवन नारायण अस्पताल बयलबासमा उपचारका लागि लगिएको थियो । चिकित्सकले उनलाई दिउँसो ४ बजेर ४० मिनेटमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि मलंगवा अस्पतालमा राखिएको छ ।