Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो छ: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने बताएका छन् । संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि पार्टीले एकल बहुमत ल्याउन कठिन हुने उनको भनाइ छ ।

नेपाली कांग्रेस धादिङका पूर्व सभापति स्व. भरतप्रसाद उप्रेतीको १३औं दिनको तिथिमा धुनिवेशी नगरपालिका–७ नौबिसेमा आयोजित श्रद्धाञ्जलीसभा सभापति देउवाले बहुमत ल्याउने वातावरण सिर्जना गर्नका लागि गुटको अन्त्य गर्न जरुरी रहेको धारणा राखे ।

‘अहिलेको संविधान राम्रो, समावेशी र समानुपातिक छ । संविधानमा सबै जातिहरूको प्रतिनिधित्व भएको छ । कुनै एक पार्टीले बहुमत ल्याउन निकै गाह्रो छ’, उनले भने, ‘बहुमत ल्याउने वातावरण बनाउनका निम्ति पार्टी एकता जरुरी छ । एकताको सुरुवात धादिङबाटै गर्नुहोस् ।’

कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनमा टिकट नपाए आफ्नै नेतालाई हराइदिने पार्टीभित्रको रोगको अन्त्य गर्न जरूरी रहेको बताए । स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा प्रतिशोधको भावनाले पार्टी कमजोर बन्ने उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, शशाङ्क कोइरालालगायत केन्द्रीय नेताहरु र धादिङ जिल्ला सभापति एवं कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी, पूर्व सभापति रमेश धमलासहित नेताहरुले श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै स्व. नेता उप्रेतीका विगतका संघर्ष सम्झदै प्रशंसा गरे । विसं १९८५ मा धादिङको नौबिसेमा जन्मिएका कांग्रेस नेता उप्रेतीको ९७ वर्षको उमेरमा २०८२ असार २८ गते काठमाडौँको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।