Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

मेयर बालेन प्रमुख प्रशासकीय अधिकृतसँग बैठक बस्न तयार, आज कार्यपालिका बैठक

आज (शुक्रबार) काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ । शुक्रवार दिउँसो २ बजे बस्ने गरी कार्यपालिका बैठक बस्न लागेको हो । महानगरको लामो समयदेखि कार्यपालिको बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन शाहलाई एक पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए ।

महानगरका अनुसार शुक्रवार बिहान ११ बजे सुरुमा मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्नेछ भने त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।

बैठकले नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्नेछ भने सोही कार्यपालिकाले नगर सभाको मिति तोक्ने छ । मेयर बालेन र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंबीचको टकरावले कार्यपालिका बैठक बस्न नसक्दा संविधानले तोकिदिएको समय सीमाभित्र बजेट ल्याउन काठमाडौं महानगरपालिका असफल भएको छ । संविधानमा स्थानीय तहले असार १० भित्र बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

मेयर बालेन शाह प्रमुख प्रशासकीय अधिकृत गुरागाईसँग बैठक बस्न नमानेपछि महानगरले बजेट ल्याउन नसकेको हो । तर मेयर शाहले आज बोलाएको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईं पनि सहभागी हुने भएका छन् । गुरागाईंले मेयरले बैठक बोलाएको जानकारी प्राप्त भएकाले आफू पनि सहभागी हुने बताएका छन् ।