शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपाल रैबार बुलेटिन: आज दिनभरका प्रमुख २० समाचार

नेपाल रैबार बुलेटिन: आज दिनभरका प्रमुख २० समाचार

आषाढ २६, २०८२ बिहिवार
आषाढ २६, २०८२ बिहिवार
  • नेपाल रैबार बुलेटिन: आज दिनभरका प्रमुख २० समाचार

    आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

    १- प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोमा निर्माण गरेको ‘नेशनल हाई पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गरेका छन् । विहिबार राष्ट्रिय खेलकुद परिषद्ले अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा निर्माण गरेको ‘नेश्नल हाई पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गरेका हुन् । राष्ट्रिय खेलाडीहरुको क्षमता अभिवृद्धिको लागि यो सेन्ट बनाईएको हो । यो सेन्टर ७ हजार ५ सय ७८ स्क्वायर फिट क्षेत्रफलमा निर्माण गरिएको हो । यसमा १०० जनासम्म खेलाडीले एकैपटक प्रशिक्षण गर्नसक्ने जनाईएको छ ।

    २- आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइएको छ । धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । ब्रह्मा, विष्णु र महेश्वरले समाधान गर्न नसकेको समस्यालाई गुरुले समाधान गर्न सक्छन् भन्ने शास्त्रीय मान्यता छ ।

    ३- मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बोलाएका छन् । बालेनले शुक्रबार बस्ने गरी कार्यपालिका बैठक बोलाएका हुन् । मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादका कारण गएको पुसदेखि कार्यपालिका बैठक बस्न सकेको थिएन । 

    ४- चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशुली नदीको किनारामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ४५-५० वर्षिय पुरुषको केही अंग नभएको शव रहेको भन्ने खबर पाउनासाथ मनसुजन्य विपद् प्रयोजनार्थ सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेश भालढुङ्गबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले आवश्यक मुचुल्का उठाई भरतपुर जिल्ला अस्पतालतर्फ पठाएको छ ।

    ५- भोटेकोशीमा आएको बाढीले पुर्याएको नोक्सान प्रारम्भिक विवरण संकलन गर्न समिति गठन गरिएको छ । समितिमा गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक योजनाका योजना प्रमुख ई. खड्गलाल श्रेष्ठ संयोजक रहेका छन् । रसुवाको जिल्ला सुरक्षा समिति, जिल्ला व्यवस्थापन समितिको आकस्मि बैठकले विपद् प्रभावित क्षेत्रमा भएको भौतिक क्षतिको प्रारम्भिक विवरण संकलन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न समिति गठन गरेको हो ।

    ६- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र संगठनभित्र फैलिएको अराजकता क्षम्य नहुने चेतावनी दिएका छन् । विहिबार पार्टी कार्यालय तुलसीलाल प्रतिष्ठानमा जनसंगठनका इन्चार्ज र पदाधिकारीहरूको भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी र संगठनभित्र फैलिएको अराजकता क्षम्य नहुने भन्दै पार्टीका घोषित नीतिको अवज्ञा कुनै प्रकारलले पनि अवज्ञा नगर्न चेतावनी दिएका हुन् । उनले पार्टीको विधानका बारेमा प्रश्न उठाउने कुरा संगठनात्मक अराजकता भएको टिप्पणी गरेका छन् ।

    ७- त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिष्ट पारित गरेको हो । 

    ८- सुदूरपश्चिमको बाजुरा जिल्लाको बडी मालिका मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । सुदूरपश्चिमको मल्लागिरी पर्वत अन्तर्गत समुद्री सतहबाट करिब ४२२० मिटर उचाइमा अवस्थित नेपालकै आस्थाको केन्द्रको रूपमा रहेको बाजुरा स्थित ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक महत्वको बडी मालिका मन्दिरको संरक्षण, संवर्द्धन तथा प्रवर्धन गर्ने उद्देश्य अनुरूप नेपाली सेनाद्वारा चैत्र २८ गतेबाट सुरु गरिएको पुनर्निर्माण कार्य असार २३ गते सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।

    ९- अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चलाएको हस्ताक्षर अभियानमा ऐक्यवद्धता जाहेर गरेकी छन् । विहिबार मनिषाले रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेर हस्ताक्षर अभियानमा ऐक्यवद्धता जाहेर गरेकी हुन् । सो अवसरमा उनले रवि लामिछानेमाथि राज्यबाट अन्याय र दुर्व्यबहार भएकोप्रति एउटा आम नागरिकको नाताले आवाज उठाउन आएकी प्रतिक्रिया दिएकी छन् । मनिषाले भनिन्- 'म कुनै पनि राजनीतिक दलमा आवद्ध छैन । एउटा आम नागरिकको नाताले रवि लामिछानेमाथि राज्यबाट अन्याय र दुर्व्यबहार भएको छ, त्यसको विरुद्ध आवाज उठाउन आएकी हुँ ।'

     १०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट कार्यविधि स्वीकृत गरी केन्द्रीय समिति सदस्यहरूको रायका लागि पठाइएको छ । रास्वपाको बुधबार बसेको सचिवालय बैठकले केही दिनभित्र कार्यविधिअनुसार उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गर्ने र प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी तय कार्यविधिअनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्ने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । साथै बैठकले सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इञ्चार्ज विपिन कुमार आचार्यलाई रुपन्देही-३ मा हुने उपनिर्वाचन सम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको बुर्लाकोटीले जानकारी दिए ।

    ११- जल तथा मौसम विज्ञान विभाग हिमताल विस्फोटबाटै यस बाढी सृजना भएको प्रारम्भिक निष्कर्षमा पुगेको छ । यस सम्बन्धमा मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको र आगामी दिनमा भू-उपग्रह मार्फत प्राप्त हुन सक्ने अन्य तस्विरहरुले समेत थप पुष्ट्याइँ दिन सक्ने बिभागले जनाएको छ । साथै विभागले निरन्तर अध्ययन जारी राख्ने र आधिकारिक जानकारी अपडेट गर्दै जाने बताएको छ । 

    १२- नेप्से परिसूचकमा आजपनि बढेको छ । आज नेप्से २५.८९ अंकले बढेर २७३१. ८० विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३१२ कम्पनीका दुई करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    १३- नेपाल पुरुष टी-२० विश्वकपको एशिया र इष्ट एशिया प्यासिफिक छनौटको समुह बी मा परेको छ । आइसीसीले विहिबार सार्बजनिक गरेको समुह विभाजनमा नेपालको समुहमा जापान र कुवेत रहेका छन् । ९ देशले खेल्ने छनौट खेलमा हरेक समुहका शिर्ष दुई देश सुपर सिक्समा छनौट हुने छन् । सुपर सिक्समा एक अर्काविरुद्ध खेलेपछि शिर्ष तीन देशले २०२६ को विश्वकपमा छनौट हुनेछन् ।

    १४- पिएसजी जारी फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ । पिएसजीले रियल म्याड्रिडलाई सेमिफाइनलमा ४-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । पिएसजीको जितमा फाबियन रुइजले दुई गोल गरेका थिए । त्यस्तै ओसमान डेम्बेले र गोन्कालो रामोसले एक एक गोल गरेका थिए । अब पिएसजीले फाइनलमा प्रिमियर लिग क्लब चेल्सीसँग खेल्ने छ । चेल्सीले ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो । फाइनल खेल जुलाई १३ मा खेलिने छ ।   

    १५- इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा न्यू इङल्याण्डलाई पराजित गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले न्यू इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा दुवै गोल लियोनेल मेसीले गरेका हुन् । मेसीले खेलको २७औं र ३८औं मिनेटमा गोल गरेका थिए । त्यस्तै न्यू इङल्याण्डका लागि खेलको ८०औं मिनेटमा कार्लेस गिलले एक गोल फर्काएका थिए ।   

    १६- नेपाल फिफा वरियतामा एक स्थान तल झरेको छ । फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल १७६ औं स्थानमा पुगेको हो । अघिल्लो वरियतामा नेपाल १७५औ स्थानमा रहेको थियो । त्यस्तै छिमेकी मुलुक भारत ६ स्थान तल झर्दै १३३औं स्थानमा पुगेको छ । त्यस्तै फिफा वरियतामा अर्जेन्टिना शिर्ष स्थानमा कायम रहेको छ ।

    १७- बंगलादेशको अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरणले मानवताविरुद्धको अपराधको मुद्दामा पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध आरोपपत्र दायर गरेको छ । हसिना बाहेक पूर्वगृहमन्त्री असदुज्जमान खान कमल र पूर्व आईजीपी चौधरी मामुनलाई सह-आरोपी बनाइएको छ । हसिनामाथि गत वर्ष प्रदर्शनका क्रममा सामूहिक हत्या र सामूहिक बेपत्ता पारेको आरोप छ । हसिनाविरुद्ध हालसम्म न्यायाधिकरणमा तीन वटा मुद्दा दर्ता भएका छन् । फौजदारी न्यायाधिकरणले जनवरी ६, २०२५ मा हसिना र अन्य ११ जना विरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो ।

    १८- भारतको गुजरातको माही नदीको पुल भत्किदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । बुधबार भत्किएको पुलमा परेर अहिलेसम्म १५ जनाको मृत्यु भएको र चार जना अझै बेपत्ता रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यस्तै सो दुर्घटनामा पाँच जना घाइते रहेका छन् ।

    १९- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि ब्राजिलविरुद्ध ५० प्रतिशत कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले ब्राजिललाई अमेरिकी प्राविधिक कम्पनीहरूमाथि आक्रमण गरेको आरोप लगाउदै ५० प्रतिशत कर लगाउने घोषणा गरेका हुन् ।

    २०- चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको हो । दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोग्राफी हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी समेत हुन् । आज भएको ‘क्याप्टेन साब’को मूर्हत सटमा व्यवसायी डा. उपेन्द्र महतो कल्याप र क्याप्टेन थापाले निर्देशन गर्दै सुरुवात गरिएको थियो । पटकथा प्रडक्सनको दोस्रो प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार